अविरल वर्षाले हुम्लामा ठूलो क्षति : सांसद लामाको संसदमा सरकारलाई ध्यानाकर्षण

काठमाडौँ । चैत १९ गतेदेखि बैशाख ४ गतेसम्मको अविरल वर्षाले हुम्ला जिल्लामा ठूलो क्षति पुर्याएको छ। प्रतिनिधि सभा सदस्य छिरिङ डम्दुल लामाले सोमबार संसदको आकस्मिक समयमा बोल्दै हुम्लामा परेको प्राकृतिक विपत्तिप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।
उनका अनुसार निरन्तर वर्षापछि आएको बाढीले अदानचुली गाउँपालिकाको वडा नम्बर १ देखि ४ र सर्केगाड गाउँपालिकाको वडा नम्बर २ र ३ मा पर्ने खरिखेत क्षेत्रमा ठूलो धनजनको क्षति भएको छ। बाढीका कारण स्थानीय होटल, पसल, चौपाया, सरकारी कार्यालय, सिँचाइ संरचना, खानेपानी आयोजना र खर्कहरूमा ठूलाे क्षति पुगेको छ। साथै, बाढीले खेतबालीसमेत बगाएको छ।
सांसद लामाका अनुसार दुबै गाउँपालिकाका ७५ घरपरिवार अहिले खुला आकाशमुनि बस्न बाध्य भएका छन्। सूर्यदय माध्यमिक विद्यालयको छात्रावास पूर्णरूपमा तहसनहस भएको छ भने विद्यालयका चारवटा भवनमा पनि गम्भीर क्षति पुगेको छ। करिब ५०० विद्यालयहरू यस वर्षाले प्रभावित बनेका छन्।
स्वास्थ्य चौकीहरू समेत बगाएका कारण औषधि अभाव सिर्जना भएको छ भने स्थानीय किसानका अन्नबालीसमेत बगाएका छन्। सांसद लामाले संसदमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै राहत र पुनर्निर्माणका लागि तत्काल पहल गर्न माग गरेका छन्।













