आत्मनिर्भर लघुवित्तको खुद नाफा करीब ६९ प्रतिशत बढ्यो

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव) को तेस्रो त्रैमाससम्म २ करोड १४ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ।
गत वर्ष यसै अवधिसम्म १ करोड २७ लाख रुपैयाँ मात्रै खुद नाफा गरेको कम्पनीले यस वर्ष करीब ६९ प्रतिशत बढी खुद नाफा गरेको हो।
यस वर्ष कम्पनीको खुद ब्याज आम्दानी ८ करोड ६४ लाख रुपैयाँबाट बढेर ९ करोड ८६ लाख रुपैयाँ पुगेको छ। गत वर्ष सञ्चालन नाफा ७ करोड बढी ऋणात्मक रहेकोमा यस वर्ष २ करोड ११ लाख रुपैयाँ धनात्मक रहेको छ।
चुक्ता पूँजी ७ करोड ८३ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २० करोड रुपैयाँ सञ्चिति रहेको छ। गत वर्ष ११.९४ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष बढेर १५ प्रतिशत नाघेको छ।
कम्पनीले झण्डै २० करोड रुपैयाँ सापटी लिएर साढे १ अर्ब रुपैयाँ बढी कर्जा प्रवाह र ९४ करोड ७१ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ।
कम्पनीको प्रतिशेयर आम्दानी २७ रुपैयाँ ४ पैसा छ भने प्रतिशेयर नेटवर्थ ३५५ रुपैयाँ ३ पैसा रहेको छ। नेप्सेमा यस कम्पनीको एक कित्ता शेयरको मूल्य ५ हजार रुपैयाँभन्दा माथि कारोबार भइरहेको छ।













