बजाज पल्सरमा आगलागी घटना बढ्दै, जोखिम उच्च

काठमाडौं । मोटरसाइकलप्रेमीहरूको रोजाइमा परिरहने बजाजको पल्सर मोटरसाइकल हाल गुणस्तर सम्बन्धी गम्भीर प्रश्नको घेरामा परेको छ । पछिल्लो समय देशका विभिन्न स्थानमा गुडिरहेको अवस्थामा पल्सर मोटरसाइकलमा एक्कासी आगलागी हुने घटना नियमितजस्तै हुन थालेपछि यस कम्पनीको उत्पादनमाथि ठूलो शंकाको बादल मडारिएको छ । मोटरसाइकल चलाउँदा सुरक्षाको विश्वसनीयताको पहिलो अपेक्षा गरिन्छ, तर बजाज पल्सर प्रयोगकर्ताहरूका लागि अब त्यो अपेक्षा मात्र एक भ्रम जस्तै देखिन थालेको छ ।
सर्वोच्च अदालत अगाडि गुडिरहेको प्र १–०१–०१५प ३३२३ नम्बरको बजाज पल्सर १५० मा एक्कासी आगो लागेको घटना पछिल्लो उदाहरण हो । चालकका अनुसार सामान्य तवरले गुडिरहेको मोटरसाइकलमा एक्कासि आगो लाग्यो । ज्यान जोगाउन उनले मोटरसाइकल रोक्न बाध्य भए र ट्राफिक प्रहरी तथा सर्वसाधारणको सहयोगमा आगो निभाउन सकियो । तर सवारी साधन भने गम्भीर रूपमा क्षतिग्रस्त भइसकेको थियो ।
कार्बुरेटरको ओभर फ्लो पाइपबाट पेट्रोल चुहिने समस्या बजाज पल्सर मोटरसाइकलमा दीर्घकालीन रूपमा देखिएको छ । कार्बुरेटर जस्तो महत्वपूर्ण भागमा यति गम्भीर त्रुटि हुनु कुनै सामान्य घटना होइन । पेट्रोल निस्कनु र तातो इन्जिनसँग सम्पर्क हुनासाथ आगलागी हुनु अत्यन्त खतरनाक अवस्था हो, जसले ज्यानसमेत जोखिममा पार्न सक्छ ।
गुणस्तरकै कमजोरीका कारण भरतपुर, पोखरा महानगर (प्रस्याङ्ग ), गुल्मी सदरमुकाम तम्घास र धरान–१३ गुडिरहेको १५० सिसीको पल्सर मोटरसाइकलमा अचानक आगलागी भई जलेर ध्वस्त भएका पछिल्ला घटनाहरु हुन् । यसअघि पनि उक्त सवारीमा आगलागीको घट्दा हुँदै आइरहेका थिए । यी सबै घटनाले पल्सर मोटरसाइकलको गुणस्तरप्रति गम्भीर प्रश्न उठाएका छन् ।
केवल आगलागी मात्र होइन, बजाज पल्सर मोटरसाइकलका अन्य पक्षहरू पनि कमजोर देखिएका छन् । प्रयोगकर्ताहरूले लामो समयदेखि ब्रेक डाउन समस्या, असमानित गियर सिफ्टिङ, कम फिनिसिङ, सस्तो गुणस्तरको इलेक्ट्रिकल वायरिङ र अत्यधिक भाइब्रेशन जस्ता समस्याका गुनासा सार्वजनिक गर्दै आएका छन् । कतिपय उपभोक्ताहरूले केही महिनामै इन्जिनमा अनावश्यक आवाज आउन थालेको, क्लच प्लेट चाँडै बिग्रिने र सस्पेन्सन सिस्टमले अपेक्षित आराम नदिएको गुनासो गरेका छन् ।
पल्सर मोटरसाइकल उत्पादन गर्दा प्रयोग गरिएका सामाग्रीहरू (पार्टपुर्जाहरू) को गुणस्तर न्यूनस्तरको देखिएको छ । पेट्रोल ट्याङ्कीमा चुहावट देखिनु, प्लास्टिक पाट्र्स चाँडै फाट्नु, सिटको फोम छिट्टै दबिनु जस्ता समस्या सामान्य भएका छन् । साथै, स्टार्टिङ सिस्टममा पनि लगातार समस्या देखिने गरेका छन्, जसले मोटरसाइकल दैनिक चलाउने प्रयोगकर्तालाई सास्ती बढाएको छ ।
निरन्तर आगलागीको घट्दा बढ्दै गएको भएपनि नेपालमा बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एन्ड कम्पनीले कुनै प्रभावकारी पहल गरेको देखिएको छैन । कम्पनीले यस्ता घटनाबारे गम्भीर अध्ययन र आवश्यक सुधार गर्ने सट्टा प्रायः मौनता साध्ने र घटनालाई लुकाउन खोज्ने प्रवृत्ति देखाएको छ । यसले कम्पनीको जिम्मेवारीबोध र उपभोक्ताप्रतिको सम्मानप्रति गम्भीर प्रश्न खडा गरेको छ ।
बजारमा प्रतिस्पर्धा चर्किंदै गएको अवस्थामा पनि बजाज कम्पनीले आफ्ना उत्पादनको गुणस्तर सुधार नगर्नु र समस्या देखिएका मोटरसाइकलहरूको रिकल (फिर्ता बोलाउने) कार्यक्रम नल्याउनु उपभोक्तामाथिको बेइमानीसँग तुलना गर्न सकिन्छ । अधिकांश अन्तर्राष्ट्रिय कम्पनीहरूले सामान्य गडबडी देखिएपछि उत्पादित सवारीसाधन फिर्ता बोलाएर मर्मत गर्ने या निःशुल्क प्रतिस्थापन गर्ने नीति अवलम्बन गर्दछन् । तर नेपालमा बजाजले यस्ता अन्तर्राष्ट्रिय मापदण्डको पालना गरेको देखिँदैन ।














One thought on “बजाज पल्सरमा आगलागी घटना बढ्दै, जोखिम उच्च”