घट्यो पुँजी बजारः करिब ९ अर्बको कारोबार, किन पर्ख र हेरको रणनीतिमा छन् लगानीकर्ता ?

१५ बैशाख २०८२, सोमबार १५:०८

काठमाडौँ । निरन्तर दुई दिन बढेको बजार आज भने घटेको छ । बजार आज दोहोरो अकंले घट्नु पुगेको हो । शेयर लगानीकर्ताहरुका लागि अहिले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति मुख्य बाधक बनि रहेको छ । जस कारण लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका हुन् ।

सत्ता गठबन्धनबीचको असहमति, न्यायालयमा परेको रिट र गभर्नर छनोट समितिका सदस्यको राजीनामाजस्ता घटनाले नियुक्ति प्रक्रिया लम्बिएको छ, जसले लगानीकर्तामा अनिश्चितता बढाएको हो।

केन्द्रीय बैंकले सेयर बजारको प्रत्यक्ष नियमन नगरे पनि, उसले लिने मौद्रिक नीति र सेयर धितो कर्जासम्बन्धी नीतिहरूले बजारमा गहिरो असर पार्ने गरेको छ। अहिले ब्याजदर घट्दो क्रममा रहे पनि, माग र आपूर्तिबीचको असन्तुलन, फोर्स सेलिङजस्ता प्रवृत्ति र ब्रोकरसँगको उधारो कारोबारसम्बन्धी अन्योलले बजारलाई तानेको छ। यसैबीच, बैंक तथा वित्तीय संस्थाको कमजोर त्रैमासिक नतिजा र पछिल्ला राजनीतिक गतिविधिले पनि बजारको गति थामिएको विश्लेषण गरिएको छ।

यद्यपि, तरलता प्रशस्त हुनु, बैंक ब्याजदर न्यून विन्दुमा रहनु र ठूला लगानीकर्ताले कर्जा लिने प्रवृत्तिमा वृद्धि हुनुले बजारमा केही सकारात्मक संकेतहरू पनि देखिएका छन्। तर कम्पनीहरूको चुक्ता पुँजी बढ्दै जाँदा नयाँ लगानीकर्ता पर्याप्त रूपमा भित्रिन नसक्नु बजारको प्रमुख चुनौती बनेको छ। बजारमा अपेक्षित सुधारका लागि राजनीतिक स्थायित्व, स्पष्ट नीतिगत संकेत र लगानीकर्ताको मनोबल उकास्ने विश्वासिलो निर्णय आवश्यक देखिन्छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.५८ अकंले घटेर २६४७.०२ बिन्दुमा कायम भएको छ । आज ३२७ कम्पनीको २ करोड ३६ लाख कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ९१ करोड २८ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन ९ उपसूचक राताम्य भएका छन् भने ४ वटा मात्रै वृद्धि भएका छन् । आज७८ कम्पनीको शेयर मूल्य बढ्दा १६७ कम्पनीको घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*