ललितपुर महानगरले सामुदायिक विद्यालय भोलिबाट सञ्चालन गर्न निर्देशन

काठमाडौं। ललितपुर महानगरपालिकाले मातहतका सबै सामुदायिक विद्यालयलाई भोलि मंगलबार (१६ वैशाख) देखि नियमित रुपमा पठनपाठन सञ्चालन गर्न निर्देशन दिएको छ। महानगरका प्रवक्ता राजु महर्जनद्वारा जारी सूचनामा सर्वोच्च अदालतको आदेशअनुसार विद्यार्थीहरूलाई शिक्षाबाट वञ्चित नगराउन विद्यालय सञ्चालन अनिवार्य रहेको उल्लेख छ।
प्रवक्ता महर्जनले भनेका छन्, सर्वोच्च अदालतको आदेशले देशभरका बालबालिकालाई विद्यालयमा नियमित पढ्न पाउने अधिकार सुनिश्चित गर्न निर्देशन दिएकोले, महानगरभित्रका सम्पूर्ण सामुदायिक विद्यालयले २०८२ वैशाख १६ गतेदेखि नियमित पठनपाठन, भर्ना अभियान तथा शैक्षिक गतिविधि सञ्चालन गर्नुहुन अनुरोध गरिएको छ।’

यता, नेपाल शिक्षक महासंघको अगुवाइमा विगतका सहमति कार्यान्वयनको माग गर्दै काठमाडौं केन्द्रित शिक्षक आन्दोलन जारी छ। शिक्षकमाथि बनेको शिक्षा ऐन तत्काल जारी हुनुपर्ने मागसहित शिक्षकहरू आज २७औं दिन पनि प्रदर्शनमा उत्रिएका छन्। सरकार र आन्दोलनरत शिक्षकबीच वार्ताबाट सहमति जुट्न नसक्दा देशभरका सामुदायिक विद्यालयमा भर्ना अभियानसहित पठनपाठनमा अवरोध भइरहेको छ।













