लुम्बिनीमा ‘स्मार्ट सेवा’को नाममा लापरबाही: करोडौंको विद्युतीय सवारी थन्किए, पाङ्ग्रा-एसी नचल्ने अवस्थामा

१६ बैशाख २०८२, मंगलवार १३:१४

काठमाडौँ । बौद्ध दर्शनको जन्मस्थल लुम्बिनीलाई विद्युतीय र ‘स्मार्ट’ सेवा दिने नाममा सरकारले करोडौं लगानी गरेर ल्याइएका विद्युतीय बस र भ्यानहरू हाल थन्किएका छन् । कानुनी अस्पष्टता, व्यवस्थापकीय लापरबाही, अनधिकृत प्रयोग र मर्मत अभावका कारण ती सवारीसाधन सञ्चालनमा आउनै नसकेको अवस्थामा छन् । राज्यको लगानी र विदेशी अनुदानमा ल्याइएका ती गाडी अहिले प्रयोगविहीन अवस्थामा बिग्रिएर थन्किएपछि त्यसले पर्यटकीय सेवा सुधारको नाममा भएको योजनाको उद्देश्य नै धराशायी बनाएको छ ।

विद्युतीय सवारी साधनहरूको व्यवस्थापन जिम्मा पाएको लुम्बिनी विकास कोष स्वयं कानुनी प्रक्रिया, सुरक्षाका मापदण्ड र आन्तरिक नियन्त्रणमा पूर्णरूपले असफल देखिएको छ । कोषकै भित्रका कर्मचारी तथा जिम्मेवार पदाधिकारीकै मिलोमतोमा सवारीसाधन अनधिकृत व्यक्तिहरूद्वारा प्रयोग भएको तथ्यले संस्थागत भ्रष्टाचारको आशंका समेत थप बलियो बनाएको छ ।

अनधिकृत प्रयोगमा दुर्घटना, करोडौंको क्षति

यस वर्ष वैशाख १३ गते लु १ झ ६९६ नम्बरको विद्युतीय भ्यान लुम्बिनी ग्राम क्षेत्रभित्र दुर्घटनामा पर्दा अगाडिको भाग पूर्णरूपमा क्षतिग्रस्त भयो । चैत २३ गते मात्र सोही भ्यान अनधिकृत व्यक्ति चलाइरहेको अवस्थामा स्थानीयले प्रहरीलाई खबर गरी नियन्त्रणमा लिएका थिए । उल्लेखनीय छ— उक्त गाडी भित्र कोषका कुनै पनि कर्मचारी वा अधिकृत पदाधिकारी सवार थिएनन् । अर्थात्, गाडी कोषकै नियन्त्रणबाट बाहिरिएको थियो ।

कोषका सूचना शाखा कर्मचारी राजन बस्नेतले यसअघि पनि २०८० साउन १९ गते उक्त गाडी अनधिकृत रूपमा चलाउँदा दुर्घटनामा परेको जानकारी दिएका छन् । प्राविधिक प्रतिवेदनअनुसार त्यस दुर्घटनाको मर्मत खर्च मात्रै २८ लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छ । त्यति मात्र होइन, सोही घटनामा लुम्बिनी सांस्कृतिक नगरपालिका–७ पक्डीहवाका ४० वर्षीय रविन्द्र यादव गम्भीर घाइते भएका छन् भने लु ३१ प १८६ नम्बरको मोटरसाइकल समेत ठूलो क्षति पुगेको छ ।

सवारीसाधन मात्र हैन, सर्वसाधारणको ज्यान र सम्पत्तिमा समेत जोखिम उत्पन्न गर्ने गरी सञ्चालित यस्तो प्रयोगप्रति सम्बन्धित निकाय पूरै चुपचाप रहनु गम्भीर प्रश्न उठाउने खालको छ ।

गाडीहरूका पाङ्ग्रा पञ्चर, सिसा फुटेका, एसी नचलेका

हाल लुम्बिनीमा ल्याइएका पाँच वटा विद्युतीय बस र १४ वटा भ्यानमध्ये प्रायः सबै बिग्रिएका वा सञ्चालनमा नरहेका छन् । लु १ झ ६९४ नम्बरको भ्यानको पछाडि भाग ठोक्किएको छ, ढोकाको ह्यान्डल नै हराएको छ भने एउटा पाङ्ग्रा समेत निकालिएको छ । लु १ झ ६९५ नम्बरको भ्यानका चारवटै पाङ्ग्रा पञ्चर छन् । पाँचवटा बसमध्ये चारको वातानुकूलन प्रणाली (एसी) काम गर्दैन । लु १ झ ३८४ नम्बरको बसको अगाडिको सिसा फुटेको अवस्थामा रहेको छ ।

योजना अनुसार प्रत्येक बस वातानुकूलित, अपांगता मैत्री, स्वचालित ढोका भएको तथा एकपटक चार्ज गरेपछि ४०० किलोमिटरसम्म चल्न सक्ने क्षमता भएको उल्लेख गरिएको थियो । कार्डबाट भुक्तानी गर्न सकिने सुविधा समेत उपलब्ध गराइएको भनिएको थियो । तर यस्ता प्रविधि कुनै पनि अहिले प्रायोगिक रूपमा देखा परेका छैनन् ।

अनुदानको दुरुपयोग, जिम्मेवार कोही छैन

एसियाली विकास बैंकको दक्षिण एशिया पर्यटन पूर्वाधार विकास आयोजनाअन्तर्गत क्लिनइनर्जी योजनाबाट २०७९ जेठ १२ गते यी सवारीसाधन लुम्बिनी विकास कोषको नाममा नामसारी गरिएका थिए । कोषले ती गाडीहरूलाई पर्यटन सेवा सुधार गर्ने भन्दै व्यवस्थापन लिएको थियो । तर अहिले अवस्था के छ भने ती गाडीहरू ‘स्मार्ट सेवा’को नमूना हैन, बरु सरकारी लापरबाहीको प्रतिक बनेका छन् ।

विदेशी दाताको उद्देश्यअनुसार प्रयोग गर्नुपर्ने सवारीसाधनहरू राज्यका कर्मचारीको निजी स्वार्थ, कमजोरी र बदमासीका कारण प्रयोगमै आउन सकेका छैनन् । दाताको मर्म अनुसार हरियो नम्बर प्लेटमा दर्ता गरेर मात्रै प्रयोग गर्नुपर्नेमा अदालतले एक महिनाभित्र सो प्रक्रिया पुरा गर्न परमादेश दिँदासमेत कार्यान्वयनमा ढिलाइ भएको छ ।

पर्यटकीय ब्रान्डलाई धक्का

लुम्बिनीको पर्यटन प्रवर्द्धन गर्ने, ‘स्मार्ट’ र ‘सस्टेनेबल’ यात्रा सेवा दिने भनिएको योजना हाल राज्यका लागि भार बनेको छ । बिग्रिएका गाडीको मर्मत गर्न बजेट छैन, सञ्चालन गर्न स्पष्ट योजना छैन, कर्मचारीको त के कुरा, संरक्षणको नियमन समेत छैन ।

यसले लुम्बिनीको ब्रान्ड इमेजमा गम्भीर असर पार्दै पर्यटकको विश्वास गुमाउने खतरा उत्पन्न गराएको छ । योजना बनाउने र कार्यान्वयन गर्नेबीच समन्वय अभाव तथा जिम्मेवारी तोक्ने निकायको कमजोरीले ‘क्लिन इनर्जी योजना’ अन्तर्गतको लुम्बिनी परियोजना नै असफल बन्ने खतरा देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*