सुप्रिम हेल्थ केयरले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

१६ बैशाख २०८२, मंगलवार १५:३६

काठमाडौं । सुप्रिम हेल्थ केयर लिमिटेडले सर्वसाधारणमा प्रति शेयर अंकित मूल्य एक सय रुपैयाँका दरको १२ लाख ५० हजार कित्ता बराबरको आइपीओ निष्काशन गर्ने भएको छ । संस्थाले उक्त कार्यको लागि सोमबार बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ ।

सोमबार सुप्रिम हेल्थ केयर लिमिटेडको तर्फबाट अख्तियार प्राप्त कार्यकारी सञ्चालक मुकेश शर्मा र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट अख्तियार प्राप्त प्रमुख कार्यकारी अधिकृत मन्दिप लुईटेलले सम्झौता पत्रमा हस्ताक्षर भएको गरेका छन् । विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुद्वारा प्रवद्र्धित विगत ६ वर्षदेखि लगातार नाफा कमाउन सफल यस सुप्रिम हेल्थ केयर लि. वि.संं. २०६६ सालमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको कम्पनी हो । यसको रजिष्टर्ड (केन्द्रीय) कार्यालय बारा जिल्लाको परवानीपुरमा रहेको छ भने सम्पर्क कार्यालय गहनापोखरी काठमाण्डौंमा रहेको छ ।

नेपालकै अग्रणी औषधी उत्पादक कम्पनीको रूपमा स्थापित यस कम्पनीले ट्याब्लेट, क्याप्सुल, क्रीम, लोशन र सोलुसन लगायतका ८५ भन्दा बढी उत्पादनहरु ३५ भन्दा बढी उपचारात्मक श्रेणीमा उत्पादन तथा वितरण गर्दै आइरहेको छ । कम्पनीले औषधी उत्पादन तथा वितरणसँगै सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर, औषधी वितरण तथा स्वास्थ्य साक्षरताका विविध कार्यक्रमहरू सञ्चालन गर्दै समाजमा सकारात्मक प्रभाव पार्दै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*