३० हजार घुससहित रंगेहात पक्राउ परेका सई खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर

१६ बैशाख २०८२, मंगलवार १६:५२

काठमाडौं । भारतबाट भन्सार छल्दै सामान ल्याउन दिने प्रलोभनमा सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिएको अभियोगमा एक प्रहरी नायब निरीक्षक (सई) विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

रुपन्देहीको दुगौलिया प्रहरी चौकीमा कार्यरत सई खिमबहादुर खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंस्थित विशेष अदालतमा मुद्दा दायर गरेको हो।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार सई खड्काले भारतबाट भन्सार छली घरायसी प्रयोजनका सामग्री ल्याउन दिने भन्दै सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस मागेर लिएको प्रमाण भेटिएपछि कानुनी प्रक्रिया अघि बढाइएको हो।

सेवाग्राहीको उजुरीका आधारमा अख्तियारको बुटवलस्थित क्षेत्रीय कार्यालयबाट खटिएको टोलीले सई खड्कालाई घुससहित रंगेहात पक्राउ गरेको थियो।

प्रवक्ता पौडेलका अनुसार खड्काले लिएको रकमलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३९(१)(क) अनुसार बिगो ठहर गरिएको छ। आयोगले कैद सजाय र घुसबराबर जरिवाना मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*