झुट्टा प्रमाणपत्र पेश गरी शिक्षकमा जागिर, टिक मगर परे अख्तियारको फन्दामा

१६ बैशाख २०८२, मंगलवार १७:०१

काठमाडौं । झुट्टा प्रमाणपत्र पेश गरी माध्यमिक तहमा नियुक्ति लिएको आरोपमा सिरहाको एक विद्यालयमा कार्यरत शिक्षकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सिरहा जिल्लाको महावीर माध्यमिक विद्यालय, चैनपुरमा कार्यरत शिक्षक टिक बहादुर मगरले माध्यमिक तह (मा.वि.) मा नियुक्तिका लागि झुटा कागजात पेश गरेको पाइएको हो।

अख्तियारका अनुसार उनले निजि माध्यमिक तहको अध्यापन अनुमति पत्र नभएको अवस्थामा पनि शिक्षक सेवा आयोगबाट प्राप्त नि.मा.वि. तह (निम्न माध्यमिक) को अनुमति पत्रलाई माध्यमिक तहको झुट्टा कागजात बनाई पटक–पटक पेश गरेका थिए। सोही आधारमा उनले शिक्षकको रूपमा कार्यरत रहँदै सरकारबाट तोकिएका ओहदा, लाभ र सुविधा लिँदै आएका थिए।

अख्तियारको अनुसन्धानपछि उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर देखिएको भन्दै सोही ऐनअनुसार कैद र जरिवाना मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दर्ता गरिएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*