सर्वोच्च अदालतले गगन थापासँग अवहेलनासम्बन्धी मुद्दामा माग्यो लिखित जवाफ

१६ बैशाख २०८२, मंगलवार १८:३३

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध अदालतको अवहेलना सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले लिखित जवाफ माग गर्ने आदेश दिएको छ।

अध्यादेशमार्फत संवैधानिक निकायमा गरिएको ५२ जनाको नियुक्तिविरुद्ध दायर रिटबारे सर्वोच्च अदालतको भूमिकामाथि थापाले सार्वजनिक रूपमा प्रश्न उठाएको अभिव्यक्तिलाई लिएर अधिवक्ताहरू अनन्तराज लुइँटेल, अभिमा उप्रेती र विशाल थापाले सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दायर गरेका थिए।

महामन्त्री थापाले लोकतन्त्र दिवसको अवसरमा आयोजित ‘आजको लोकतन्त्र, अवसर र चुनौती’ विषयक संवाद कार्यक्रममा सम्बोधन गर्दै सर्वोच्च अदालतले सो रिटलाई वर्षौंदेखि ‘झुलाइरहेको’ टिप्पणी गरेका थिए। उनले भनेका थिए, ‘अहिले सम्मानित अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतको विषयलाई अढाइ, तीन वर्षदेखि तलाईँ हान्दिऊँ, हान्दिउँ भनेर झुलाएर राखेको छ। कहिले हेर्दाहेर्दै भन्छ, कहिले भयाइनभ्याइ भन्छ, कहिले भोलि हेर्ने भन्छ, पर्सी हेर्ने भन्छ।’

थापाको भनाइमा अदालतप्रतिको विश्वसनीयता गुम्ने खतरा रहेको संकेत गरिएको छ। ‘जसरी यो विषयलाई अदालतले डिल गर्यो, त्यो अदालतप्रतिको विश्वसनीयता के रहन्छ?’ भन्ने प्रश्न उनले उठाएका थिए।

उक्त अभिव्यक्तिलाई लिएर दायर मुद्दामा सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र नित्यानन्द पाण्डेयको इजलासले थापासँग लिखित जवाफ माग्न आदेश दिएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*