बैंकिङ प्रणालीमा अधिक तरलता, बजारबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक

१७ बैशाख २०८२, बुधबार ११:१४

काठमाडौँ । बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले पुनः एक पटक निक्षेप संकलन उपकरणमार्फत बजारबाट तरलता सोस्ने तयारी गरेको छ। राष्ट्र बैंकले आज (वैशाख १७) दिउँसो ३ बजे बोलकबोल प्रक्रियामार्फत ५० अर्ब रुपैयाँ संकलन गर्ने जनाएको छ।

राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि नियमित रूपमा निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ। यो प्रक्रिया अन्तर्गत बैंक तथा वित्तीय संस्थाहरूले तोकिएको म्यादका लागि केन्द्रीय बैंकमा निश्चित ब्याजदरमा रकम राख्ने व्यवस्था हुन्छ।

यस पटकको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ अर्ब रुपैयाँसम्मको प्रस्ताव पेश गर्न सक्नेछन्। यो प्रक्रिया ब्याजदरमा आधारित हुनेछ, जसमा बहुब्याजदरमा समेत प्रस्ताव दिन सकिने व्यवस्था गरिएको छ।

संकलित निक्षेपको अवधि २१ दिनको हुनेछ र यसको साँवा तथा ब्याज जेठ ७ गते फिर्ता गरिने राष्ट्र बैंकले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*