सत्ता गठबन्धनको बैठक सकियो, गभर्नर नियुक्ति सिफारिस समिति सदस्यको बिषयमा भएन छलफल

काठमाडौं । सत्ता गठबन्धनको बैठक सकिएको छ ।प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बुधबार भएको बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउने नीति तथा कार्यक्रमबारे छलफल भएको छ ।
गभर्नर नियुक्ति सिफारिस समितिको बिषयमा केही निर्णय नभएको बुझिएको छ।
नेकपा एमालेका नेता प्रदीप ज्ञवालीका अनुसार अर्थतन्त्रलाई लयमा ल्याउने गरी आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम ल्याउनुपर्ने सुझाव सत्तारुढ दलका नेताहरूको छ ।
बैठकमा खास गरी लोकतन्त्रलाई थप सुदृढ गर्ने र यसमाथि विभिन्न कोणबाट भइरहेका हमला र आक्रमणलाई सामूहिक रूपमा जवाफ दिने विषयमा छलफल भएको उनले बताए ।
विकास निर्माणलाई प्रभावकारी बनाउन आयोजनाहरूलाई उच्च प्राथमिकीकरण गर्नुपर्ने विषयमा बैठकमा सहभागी नेताहरूबाट सुझाव आएको उनले बताए ।
आयोजनाहरू अत्यन्त धेरै छरिएको र स्रोतहरूको एक किसिमले अपव्यय भइरहेको अवस्थालाई अन्त्य गर्नुपर्छ सुझाव पनि आएको उनले बताए ।
अर्थतन्त्रलाई लयमा ल्याउनका लागि सरकारको खर्च गर्ने क्षमता बढाउने, अनावश्यक र फजुल संरचना र फजुल खर्चहरूलाई निर्मतापूर्वक कटौती गर्ने र सरकारको कार्य दक्षता बढाउने विषयमा पनि छलफल भएको उनले बताए ।
वाह्य सम्बन्धहरूलाई थप सुदृढ बनाउने विषयमा पनि छलफल भएको उनले बताए ।
राष्ट्रपति रामचन्द्र पौडेलले पर्सि संसद्मा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छन् ।













