गभर्नर विवादले लगानीकर्ता निराशः बजारमा देखिदै अन्यौल, कस्तो होला आगामी यात्रा ?

काठमाडौं । नेपाली शेयर बजार महिनौँदेखि साइडवेज ट्रेन्डमा चलिरहेको छ, जसका कारण लगानीकर्ताहरू अन्योलमा परेका छन् । बजार २५ सयदेखि २८ सय बिन्दुको सीमामा अड्किँदा न किन्ने उत्साह देखिएको छ, न बेच्ने तयारी । २६ सय बिन्दु वरिपरि बजार अल्मलिँदा खरिद–बिक्रीको क्रियाकलाप ठप्पजस्तै देखिएको छ, जसले लगानीकर्तालाई ‘वेट एन्ड वाच’ स्थितिमा राखेको छ ।
यस्तो स्थगित बजार अवस्थाले लगानीकर्तामाझ चिन्ता र निराशा थपिदिएको छ। सामाजिक सञ्जालदेखि लगानीकर्ता समूहसम्म बजार किन नबढेको? भन्ने बहस चलिरहेका छन्। लगातारको साइडवेज ट्रेन्डले पुराना लगानीकर्ता पनि निष्क्रिय बनेका छन् भने नयाँ लगानीकर्ता आकर्षित हुन सकेका छैनन् । मूल्य घट्दा पनि धेरै लगानीकर्ता खरिद गर्न हिच्किचाएका छन् भने मूल्य बढ्ने आशामा बसेकाहरूले समेत पर्खाइ रोजेका छन् ।
बैंकको ब्याजदर घटिरहेको, तरलता प्रशस्त रहेको र सेयर धितो कर्जामा प्राथमिकता दिइँदै आएको अवस्थामा पनि बजारमा उत्साह देखिएको छैन । विश्लेषकहरूका अनुसार बजारलाई चलायमान बनाउन लगानीकर्ताको मनोविज्ञानमा सकारात्मक संकेत आवश्यक छ । तर, हाल गभर्नर नियुक्ति विवादले थप अन्योलता सिर्जना गरेको छ । उक्त विवादले समग्र अर्थतन्त्र र लगानी वातावरणमा असर पारिरहेको भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ ।
गभर्नर नियुक्तिमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच भागवण्डा सम्बन्धी अन्तिम छलफल भए पनि सरकारले निर्णयमा ढिलाइ गरिरहेको छ । अघिल्ला गभर्नर महाप्रसाद अधिकारीले शेयर बजारलाई सशक्त बनाउन खास नीति ल्याउन नसकेको भन्दै आलोचना हुँदै आएको छ । लगानीकर्ताले नयाँ गभर्नरबाट सकारात्मक नीति आउने अपेक्षा राखे पनि सरकारको ढिलासुस्तीले बजारमा नै असर देखिन थालेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.६१ अकंले घटेर २६२६.३६ बिन्दुमा कायम भएको छ । आज ३१४ कम्पनीको २ करोड ४६ लाख ४१ हजार कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ३७ करोडको शेयर कारोबार भएको हो ।
बुधबार ५ उपसूचकमा हरियाली देखिए पनि ८ उपसूचक राताम्य भएका छन् । यसदिन १०७ कम्पनीको शेयर मूल्य घटेको छ भने १३६ कम्पनीको बढेको हो ।













