त्रिवि निर्वाचन निर्देशिकाविपरीत स्ववियु घोषणा भएको भन्दै आरआर क्याम्पसमा लाग्यो ताला

१७ बैशाख २०८२, बुधबार २१:०९

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको कार्यनिर्देशिका विपरीत रत्नराज्यलक्ष्मी क्याम्पसमा स्ववियु समिति घोषणा गरिएको भन्दै विद्यार्थी संगठनहरू आक्रोशित भएका छन्। विद्यार्थीहरूको प्रतिनिधित्व गर्ने नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी बहुमत), अखिल (समाजवादी) र स्वतन्त्र विद्यार्थी समूहले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै क्याम्पसमा तालाबन्दी गरिएको जानकारी दिएका छन्।

त्रिवि कार्यनिर्देशिका अनुसार २०८१ साल चैत्र ५ गते र १६ गते हुने भनिएको स्ववियु निर्वाचन उच्च अदालतमा परेको रिटका कारण रोकिएको थियो। अदालतले छिट्टै निर्वाचन गराउन आदेश दिएपनि, चैत्र २० गते विघटन भइसकेको निर्वाचन समितिका संयोजक महेश भट्टराईले वैशाख १७ गते बेलुकी सर्वसम्मतिले स्ववियु समिति गठन भएको घोषणा गरेका थिए। तर विद्यार्थी संगठनहरूले यस कार्यलाई ‘विना छलफल, विना सर्वदलीय बैठक, विना विधि पद्धति र प्रक्रिया’ भएको भन्दै अवैधानिक र अलोकतान्त्रिक करार दिएका छन्।

‘पाँच सात जना मात्र सहभागी रहेको बन्द कोठाबाट गरिएको यस्तो घोषणा त्रिवि निर्वाचन कार्यनिर्देशिकाको खुलेआम उल्लंघन हो’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो कार्यप्रति हामी घोर भर्त्सना गर्दछौं।’

संगठनहरूले विद्यार्थीको मताधिकार सुनिश्चित नभएसम्म तालाबन्दी जारी राख्ने बताएका छन्। तालाबन्दीका कारण विद्यार्थीहरूलाई पर्न सक्ने असुविधाप्रति क्षमा माग्दै उनीहरूले निष्पक्ष निर्वाचन मार्फत मात्र स्ववियु गठन हुनुपर्ने माग राखेका छन्।

संयुक्त प्रेस विज्ञप्तिमा नेपाल विद्यार्थी संघका विनोद राज जोशी, अखिल (क्रान्तिकारी बहुमत)का विवेक मयाल, स्वतन्त्र विद्यार्थी समूहका हर्क बहादुर बोहरा र अखिल (समाजवादी)का जगदीश गिरिको हस्ताक्षर रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*