लक्ष्मी सनराईज बैंकका सिईओ राष्ट्र बैंकको कारवाहीमा, स्टाण्डर्ड चार्टर्ड बैंकलाई १४ करोड जरिबाना

काठमाडौं । निमायकीय अनुशासनमा नबसेपछि नेपाल राष्ट्र बैंकले लक्ष्मी सनराईज बैंकका सिईओ अजय बिक्रम शाहलाई कारवाही गरेको छ । त्यस्तै, केन्द्रीय बैंकको नीति तथा निर्देशनको उल्लंघन गरेपछि स्टाण्डर्ड चार्टर्ड बैंकलाई १४ करोड रुपैयाँ भन्दा बढि जरिवना तिराइएको छ ।
कामु गभर्नरको रुपमा निलम ढुंगानाले जिम्मेवारी सम्हालेपछि वित्तीय अनुशासनको पालना नगर्ने क बर्गका पाँच बाणिज्य बैंक तथा एक जना सिईओसहितलाई कारवाही गरिएको हो । प्राप्त विवरण अनुसार उल्लेखित दुई बैंक बाहेक कुमारी बैंक, राष्ट्रिय बाणिज्य बैंक, नेपाल बैंक तथा कृषि विकास बैंक पाँच वाणिज्य बैंक नेपाल राष्ट्र बैंकको कारबाहीमा परेका छन् ।
राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१।८२ को तेस्रो त्रैमासमा नियामकीय व्यवस्था तथा निर्देशन उलंघन गरेको आरोपमा लक्ष्मी सनराईज बैंकका सिईओ शाहलाई नसियत दिइएको नेपाल राष्ट्र बैंकले जनाएको छ । सिईओ शाहले केन्द्रीय बैंकको निर्देशन अटेर गरेका थिए ।
लक्ष्मी सन्राईज बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले केन्द्रीय बैंकको निर्देशन पालन नगरी अटेर गर्दै फुर्तीफार्ती गरेपछि तह लगाउने निर्णय गरेको केन्द्रीय बैंक स्रोेतले जनाएको छ । बैंकले राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन तथा बैंकको कर्जा नीति एवं कर्जाका प्रोडक्ट पेपरहरुको व्यवस्थाको अपव्याख्या गरी चालु पुँजी प्रकृतिको कर्जाका लागि लामो समयावधिको आवधिक कर्जा प्रदान गरेको बिषयलाई केन्द्रीय बैंकले सिईओ शाहको बदनियत मनसाय भएको व्याख्या गर्दै कारवाही गर्ने निर्णय गरेको हो ।
यसैगरी मार्जिन प्रकृतिका कर्जाको प्रयोजनका लागि आवधिक कर्जा प्रदान गरेको पाइएको छ । सिईओ शाहले नेपालका ठूला व्यापारिक घरानासँग मिलेर ठूला ऋणको किस्ता कायम गर्दा अनियमतता गरेको निष्कर्ष निकालेको छ । सिईओ शाहले नेपालका नाम चलेको ठूला व्यापारिक घरानालाई प्रवाह भएको ऋणको किस्ता कायम गर्दा व्यापारीलाई लाभ तथा बैंकलाई थप जोखिम हुने गरी किस्ता कायम गरेको पाइएको छ । बैंकबाट प्रवाह भएको कर्जाको शुरुका वर्षहरुमा अत्याधिक न्यूनतम तथा अन्तिम वर्षहरुमा अधिकतम साँवा असुल हुने गरी कर्जाको किस्ता कायम गरेको राष्ट्र बैंकको ठहर छ । उनको उक्त कार्यलाई केन्द्रीय बैंकले व्यक्तिगत खराब नियत रहेको निष्कर्षसहित कारवाही गर्ने निर्णय गरेको केन्द्रीय बैंक स्रोतले जनाएको छ ।
त्यसैगरी, कन्द्रीय बैंकले स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई १४ करोड ८५ लाख २५ हजार ५६७ रुपैयाँ नगद जरिवाना गरेको छ । बैंकले कृषि, उर्जा र लघु एवं साना तथा मझौला व्यवसायमा तोकिएको अनुपातमा कर्जा लगानी नगरेको भन्दै बैंकलाई नगद जरिवाना तिराएर कारबाही गरेको हो ।
उता, केन्द्रीय बैंकको कारवाहीबाट तीन सरकारी बैंक समेत जोगिन सकेका छैनन् । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य, नेपाल बैंक पनि कारबाहीमा परेका छन् ।
राष्ट्रिय वाणिज्य बैंकले कर्जाको भाखा नाघेको अवधिको आधारमा कर्जाको वर्गीकरण नगरी केन्द्रीय बैंकको नीतिको पालना नगरेको, कर्जा नोक्सानी व्यवस्था र जोखिम भार समेत गणना नगरेको पाइएपछि बैंकको प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको हो ।
त्यस्तै, नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतलाई वार्षिक बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न नसकेपछि राष्ट्र बैंकले सचेत गराएको छ । साथै बैंकका तत्कालीन अध्यक्ष डा. चन्द्र बहादुर अधिकारीलाई आफ्नो पद र नामको दुरुपयोग गरी व्यक्तिगत लाभ लिएको पाइएपछि पाँच लाख रुपैयाँ जरिवाना गरेको छ ।
यस्तै कुमारी बैंकको प्रमुख कार्यकारीले सुक्षम निगरानी तथा निष्कृय कर्जालाई वर्गीकरण नगरेको साथै न्यूनतम कर्जा नोक्सानी व्यवस्था समेत नगरेको भन्दै राष्ट्र बैंकले सचेत गराएको छ ।
*सम्पादन गरिएको













