छनौट समितिले आगामी साता गभर्नर छान्ने, डा. भट्टको दावेदारी सबैभन्दा बलियो

१८ बैशाख २०८२, बिहीबार २०:५७

काठमाडौं । नेपाल राष्ट्र बैैैंकको गभर्नर नियुक्तिका लागि महाप्रसाद अधिकारीलाई थप गरी छनौट समितिलाई पूर्णता दिएसँगै नयाँ गभर्नर नियुक्ति प्रक्रिया पुनः अघि बढ्ने भएको छ । स्रोतका अनुसार आगामी साताभित्रमा नयाँ गभर्नर नियुक्ति प्रक्रिया अघि बढाइनेछ ।

कहिले सत्ता गठबन्धको बेमेल त कहिले सहमति र कहिले सत्ता परिवर्तनको त्रासमा रहेको सरकारले अब भने गभर्नर नियुक्ति प्रक्रिया अघि बढाउने भएको हो । स्रोतका अनुसार आगामी सोमबार बस्ने मन्त्रिपरिषद बैठकले नयाँ गभर्नर नियुक्त गर्ने सम्भावना बलियो छ । त्यसअघि समिति बैठक बसेर तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नुपर्ने हुन्छ ।

करिब दुई तिहाइ बहुमतको शक्तिशाली सरकारका प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गभर्नर नियुक्ति ढिलाईमा भएको प्रश्नले चौतर्फी घेराबन्दीमा परेका छन् । त्यसैले प्रम ओली जतिसक्दो छिटो गभर्नर नियुक्त गर्ने पक्षमा रहेको बताइएको छ । छनौट समितिले आइतबारसम्म सरकारलाई तीन जनाको नाम पेश गर्ने र सोमबार बस्ने मन्त्रिपरिषदको बैठकबाट नयाँ गभर्नर नियुक्त गर्ने तयारी भइरहेको छ । छनौट समितिले दुई जना डेपुटी गभर्नर निलम ढुंगाना र बम बहादुर मिश्र मध्येबाट एक जना र अन्य दुई जना सहित तीन जनाको नाम गभर्नरका लागि सरकार समक्ष सिफारिस गर्नेछ ।

राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिमा राजनीतिक सहमति भईसकेको प्रतिक्रिया आएपनि अर्थमन्त्रीको संयोजकत्वमा गठित सिफारिस समतिको बैठक एक महिना बस्न नसकेको भन्दै सिफारिस समितिका सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईले राजिनामा दिएसँगै यसको प्रकृया रोकिएको थियो । पुनः अर्का पूर्व गभर्नर थप गर्नुपर्नेमा सरकारको सेटिङलाई औपचारिकता दिएर विवादमा पर्न नचाहेपछि गभर्नर महाप्रसाद अधिकारीलाई राजदूत बनाउने शर्तमा छनौट समितिमा समावेश गरिएको स्रोतको दावी छ । यद्यपि निवर्तमान गभर्नर छनौट समितिमा बस्दा स्वार्थ बाझिने खेल हुने भन्दै आलोचना समेत भइरहेको छ ।

चैत २४ गते गभर्नर अधिकारीको कार्यकाल सकिएपछि डेपुटी गभर्नर निलम ढुंगानाले कामुको रुपमा जिम्मेवारी सम्हालेकी छन् । ढुंगाना आफैं पनि गभर्नरको दाबेदारीमा छिन् ।
नेपाली कांग्रेस र एमालेबीच राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नरमा नियुक्त गर्ने सहमति भएको चौतर्फी चर्चा रहेको छ । गभर्नरमा उनको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा हालेको एक निवेदनलाई सर्वोच्चले कुनै आदेश नदिएपछि भट्टको गभर्नर बन्ने बाटो खुलेको छ ।

डा. भट्ट राष्ट्र बैंकका कार्यकारी निर्देशक हुन् । अमेरिकी विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका उनलाई अर्थतन्त्र बुझेको व्यक्तिको रुपमा हेरिन्छ । कांग्रेससँग निकट रहेको र सुदूरपश्चिमको समेत भएका कारणले उक्त पार्टीले उनलाई अघि सार्न सक्ने सम्भावना रहेको बताइँदै आएको छ ।

उनीहरूका अनुसार सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधि मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था ‘एफएटीएफ’ को ‘ग्रे–लिस्ट’ बाट नेपाललाई बाहिर निकाल्न सबैभन्दा महत्त्वपूर्ण भूमिका गभर्नरको हुन्छ । तर सरकार गभर्नर कसको भागमा पार्ने भनेरै रस्साकसीमा रहनु मुलुकका लागि दुर्भाग्य भएको चर्चा राजनीतिक र कुटनीतिक वृत्तमा चर्चा भइरहेको छ ।

भट्ट बाहेक छनौट समितिले नबिल बैंकका पूर्व सिईओ ज्ञानेन्द्र ढुंगाना, नेपाल राष्ट्र बैंककै कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठको नाम गभर्नरका लागि चर्चामा रहेका नामहरु हुन् । गभर्नर नियुक्ती प्रक्रिया धेरै नै गिजोलिसकेकोले हाल बजारमा चर्चामा रहेका नाम बाहेक नयाँ नाम समेत आउन सक्ने सम्भावना पनि उत्तिकै छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*