नेरुडे मिर्मिरे लघुवित्तको नाफासँगै घट्यो ईपीएस, निष्क्रिय कर्जा १५% नजिक

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त विवरण अुनसार कम्पनीले चैत मसान्तसम्म ५ करोड ७९ लाख रुपैयाँ खुद नाफा गरेको छ।
कम्पनीको गत वर्षको यसै अवधिसम्म १९ करोड ८३ लाख रुपैयाँ रहेको खुद नाफा यस वर्ष ७०.८० प्रतिशतले घटेको हो। नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि ३२ रुपैयाँ ८१ पैसाबाट घटेर ५ रुपैयाँ ५२ पैसामा झरेको छ।
यस वर्ष कम्पनीको इम्पेयरमेन्ट चार्ज १५ करोड ७० लाख रुपैयाँबाट दोब्बरभन्दा बढीले वृद्धि भएर झण्डै ३३ करोड रुपैयाँ पुगेकाले नाफा प्रभावित भएको हो।
यद्यपि कम्पनीको खुद ब्याज आम्दानी भने ६४ करोड ५ लाख रुपैयाँबाट ५८ प्रतिशतभन्दा बढीले वृद्धि भएर १ अर्ब रुपैयाँ नाघ्दा सञ्चालन नाफा भने २५ करोड ६२ लाख रुपैयाँबाट घटेर साढे ७ करोड रुपैयाँमा झरेको छ।
चुक्ता पूँजी १ अर्ब ३९ करोड ७७ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भमा १ अर्ब ४१ करोड रुपैयाँभन्दा बढी सञ्चिति रहेको छ भने जगेडा कोषमा ११ करोड ७१ लाख रुपैयाँ ऋणात्मक रहेको छ।
समीक्षा अवधिमा कम्पनीको निष्क्रिय कर्जा ८.८३ प्रतिशतबाट वृद्धि भएर १४.८१ प्रतिशत पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १९२ रुपैयाँ ६६ पैसा रहेको छ।













