स्वास्थ्य मन्त्री पौडेल र आवासीय चिकित्सकको वार्ता निष्कर्षविहीन, कडा आन्दोलन गर्ने चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र आवासीय चिकित्सकका प्रतिनिधिहरुबीच भएको वार्ता निष्कर्ष बिहिन बनेको छ । शुक्रबार मन्त्रालयमा भएको स्वास्थ्य मन्त्री प्रदीप पौडेल र नेपाल चिकित्सक संघका पदाधिकारीबीचको वार्ता कुनै पनि निर्णय नै नगरी टुङ्गिएको हो ।
सरकारले निजी मेडिकल कलेजहरुलाई आवासीय चिकित्सकसरह भत्ता दिन निर्देशन दिए पनि कार्यान्वयन नभएपछि आवासीय चिकित्सकहरु आन्दोलनमा छन् । उनीहरुले स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई मेडिकल कलेजका मालिकहरु सामु राज्य निरीह बनेको भन्दै प्रश्न गरेका हुन् ।
निजी मेडिकलहरुले आवासीय चिकित्सकहरुको सम्बन्धमा सरकार र चिकित्सा आयोगको निर्णयलाई समेत बेवास्ता गरेको उनीहरुको आरोप छ । प्रतिनिधि सभा सदस्यसमेत रहेका डा. सुनिल शर्माको काठमाडौं मेडिकल कलेजले आवासिय चिकित्सकलाई कलेज फर्काउने वातावरण बनाउनुको सट्टा उल्टै चिकित्सकको स्थानमा नयाँ कर्मचारी नियुक्ती गरेको एक प्रतिनिधीले बताए ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा.अनिल कार्कीलेले सरकारको निर्णयलाई केही निजी मेडिकलहरुले वेबास्ता गरेर आन्दोलनमा रहेका चिकित्सकहरुलाई उल्टै धम्क्याउने र उनीहरुको परीक्षा समेत रोकिदिने भन्दै दादागिरी गरीरहेको बताए । उनले निजी मेडिकल व्यवसायी सामु राज्य निरीह भएको आरोप लगाएका छन् ।
स्वास्थ मन्त्री प्रदीप पौडेलले सम्पूर्ण आन्दोलनरत आवासिय चिकित्सकहरुलाई यथासिघ्र अस्पतालमा गएर स्वास्थ्य सेवा उपलब्ध गराउन आग्रह गरेका छन् । मन्त्री पौडेलले निजी मेडिकल कलेजहरुले सरकार र चिकित्सा आयोगको निर्णय नमानेको भेटिएमा सम्बन्धन तथा स्वास्थ्य बीमा लगायतका सम्पूर्ण सेवाहरु खारेज गर्ने चेतावनी दिएका छन् ।
स्वास्थ्यमन्त्री पौडेल र आवासिय चिकित्सकबीचको छलफल बिना कुनै निष्कर्ष टुङ्गिएको कारण आवासिय चिकित्सकहरुले आउदो दिनमा अझै उग्र रुपले आन्दोलनका कार्यक्रम गर्ने प्रतिक्रिया दिएका छन् ।













