४४ अर्ब ५४ करोडको बक्यौता, खिम्ती आयोजनाको स्वामित्व अझै नलिइएको खुलासा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले हालै सार्वजनिक गरेको श्वेतपत्रमा प्राधिकरणको बक्यौता तथा आर्थिक दायित्व सम्बन्धी महत्वपूर्ण विवरणहरू खुलासा गरिएको छ।
श्वेतपत्रअनुसार, २०८१ सालको फागुन मसान्तसम्म प्राधिकरणको कुल बक्यौता ४४ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ। यसमध्ये डेडिकेटेड फिडर तथा ट्रंकलाइनतर्फ मात्रै २३ अर्ब ४४ करोड रुपैयाँ बाँकी रहेको छ। त्यस बक्यौतामध्ये पहिलो खण्ड (२०७२ साउनदेखि पुससम्म) १ अर्ब ४२ करोड रुपैयाँ, दोस्रो खण्ड (२०७२ माघदेखि २०७५ वैशाखसम्म) ६ अर्ब ११ करोड रुपैयाँ र तेस्रो खण्ड (२०७५ जेठदेखि २०७७ असारसम्म) ९ अर्ब १ करोड रुपैयाँ छुट्याइएको छ ।
पहिलो र तेस्रो खण्डका बक्यौता रकम हाल अदालतमा विचाराधीन रहेका छन्। साथै, ती बक्यौता असुलीका लागि प्राविधिक प्रमाणहरू जुटाउनु पर्ने अवस्था रहेको उल्लेख छ। नेपाल सरकारबाट कोभिड छुट, चिस्यान केन्द्रलगायत शीर्षकमा दिइएको छुट वापतको १४ अर्ब १० करोड रुपैयाँको शोधभर्ना अझै प्राप्त हुन बाँकी रहेको छ। यी रकमहरू समावेश गर्दा डेडिकेटेड फिडर तथा अन्य बक्यौता मिलाएर जम्मा ३२ अर्ब ५ करोड रुपैयाँ प्राप्ति अनिश्चित रहेको महालेखा परीक्षकको २०८०/८१ को प्रतिवेदनमा उल्लेख गरिएको छ।
त्यसैगरी, नियमित बक्यौता शीर्षकमा थप १२ अर्ब ४९ करोड रुपैयाँ बाँकी रहेको छ। महालेखा परीक्षकको प्रतिवेदनअनुसार खिम्ती जलविद्युत आयोजना अझै प्राधिकरणको स्वामित्वमा नआएकाले संस्थाको सम्पत्ति र दायित्वको यथार्थता एकिन गर्न नसकिने बताइएको छ। यस अवस्थाबाट प्राधिकरणलाई आगामी दिनमा थप १२ अर्ब ५८ करोड रुपैयाँ बराबरको दायित्व सिर्जना हुने देखिएको छ ।













