पुँजी बजार सुदृढ गर्न स्टक एक्सचेञ्ज पुनर्संरचना र धितोपत्र बोर्डको क्षमता वृद्धि गरिने

काठमाडौं । डिजिटल बैंक स्थापना गरिने भएको छ। पछिल्लो समय सूचना प्रविधिको विकास र विस्तारसँगै सरकारले डिजिटल बैंक स्थापना गर्ने रणनीति अघि सारेको हो। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन्।
उनका अनुसार सूचना प्रविधिको पूर्वाधार विस्तार गरी डिजिटल अर्थतन्त्रको विकास र नगदरहित वित्तीय कारोबार अभिवृद्धि गरिनेछ। सोही सन्दर्भमा आवश्यक नीतिगत तथा कानुनी व्यवस्था गरी डिजिटल बैंक स्थापना गरिने योजना रहेको स्पष्ट गरिएको छ।
यससँगै, बैंक तथा वित्तीय संस्थाहरूमा रहेको गैरबैंकिङ सम्पत्ति र खराब कर्जा व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
उनले धितोपत्र बोर्ड सुदृढिकरण तथा स्टक एक्सचेञ्ज पुनर्संरचना गरी पुँजी बजारको क्षमता एवं पारदर्शीता वृद्धि गरिने बताए ।













