पेट्रोलियम सवारीमा यूरो ६ मापदण्ड लागू गर्ने
१९ बैशाख २०८२, शुक्रबार १५:५३

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारीसाधनमा यूरो ६ मापदण्ड लागू गर्ने भएको छ। शुक्रबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो घोषणा गरेका हुन्।
राष्ट्रपति पौडेलले प्रदूषण नियन्त्रण र वातावरणीय सुरक्षा सुनिश्चित गर्न यूरो ६ मापदण्डअनुसारका सवारीसाधनको प्रयोग अनिवार्य बनाइने बताएका छन्। सो मापदण्ड लागू भएपछि सवारीसाधनबाट निस्कने हानिकारक ग्यास उत्सर्जनमा कमी आउने अपेक्षा गरिएको छ।
साथै, उनले कार्वन व्यापार रणनीति तर्जुमा गरिने र सन् २०४५ सम्ममा खुद शून्य कार्वन उत्सर्जन गर्ने नेपालको प्रतिबद्धता पूरा गर्न दीर्घकालीन रणनीति तयार गरिने जानकारी पनि दिएका छन्।













