एमबियूएसटीद्वारा ‘विश्वस्तरीय विश्वविद्यालयतर्फको पहिलो कदम’ अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना

२१ बैशाख २०८२, आईतवार १०:१०

काठमाडौं । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय (एमबियूएसटी) ले ‘विश्वस्तरीय विश्वविद्यालयतर्फको पहिलो कदम’ भन्ने शीर्षकमा एकदिने अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा आइतवार आयोजना गर्ने भएको छ।

सम्मेलनमा नेपाल तथा विदेशका प्रख्यात प्राज्ञ, नीति निर्माता, अनुसन्धानकर्ता, उद्योग क्षेत्रका प्रतिनिधि र विद्यार्थीहरूको सहभागिता रहनेछ। उनीहरूले विश्वविद्यालयको दीर्घकालीन योजना, अन्तर्राष्ट्रिय सहकार्य र गुणस्तरीय शिक्षा प्रणालीबारे छलफल गर्नेछन्।

एमबियूएसटीका अध्यक्ष डा. राजेन्द्रध्वज जोशीका अनुसार सम्मेलनको उद्देश्य नवस्थापित विश्वविद्यालयको प्रभावकारी सञ्चालनका लागि अन्तर्राष्ट्रिय समर्थन जुटाउनु र सहकार्य विस्तार गर्नु हो। हालसम्म १ करोड २५ लाख रुपैयाँ बराबरको सहयोग संकलन भइसकेको छ।

सम्मेलनमा प्रमुख वक्ताका रूपमा सिंगापुरको नेसनल युनिभर्सिटी अफ सिंगापुरका प्राध्यापक तथा ट्रस्टी प्रो. सीरम रामकृष्णले सम्बोधन गर्ने छन्।

‘विश्वस्तरीय विश्वविद्यालय निर्माणः सरोकारवालाको सहभागिता’ विषयमा हुने प्यानल छलफल बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले सञ्चालन गर्नेछन्। छलफलमा सहभागी हुने विशिष्ट व्यक्तित्वहरूमा भानु आचार्य, प्रा. गोविन्दराज पोखरेल, डा. जोशी, सांसद महेशकुमार बर्तौला र प्रा. डा. संगीता सिंह रहेका छन्।

सम्मेलनमा सातभन्दा बढी मुलुकका ३० भन्दा बढी वक्ताहरू सहभागी हुनेछन्। प्रमुख अन्तर्राष्ट्रिय वक्ताहरूमा प्रा. नाम प्यो सुह, प्रा. सुजाने फोर्टियर, प्रा. रिचर्ड मिलर, डा. केनिची ओहाशी, डा. शम्स कासिम–लाखा र ब्रुस फ्लेस्नर छन्।

करीब ४०० सहभागीहरूको उपस्थित रहने सम्मेलनले एमबियूएसटीलाई नवप्रवर्तनशील तथा अन्तर्राष्ट्रिय स्तरको शैक्षिक संस्था बनाउने दिशामा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*