खराब मौसमका कारण हवाई उडान अस्तब्यस्त

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा परेको लगातारको वर्षाले आज हवाई सेवा प्रभावित भएको छ। कमजोर भिजिविलिटीका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय उडान अवरुद्ध बनेका छन्। जजिर एयरको अन्तरराष्ट्रिय उडान भारतको बनारस डाइभर्ट भएको छ भने बुद्ध एयरको माउन्टेन फ्लाइट र रामेछाप–लुक्ला उडानसमेत प्रभावित बनेका छन्।
लुक्लातर्फ जान लागेको समिट र तारा एयरका तीन विमान गन्तव्य परिवर्तन गर्नुपरेको छ। त्यस्तै, नेपाल वायुसेवा निगमको काठमाडौं–थामखर्क उडान पनि अवरुद्ध बनेको छ। यद्यपि, वर्षा रोकिएसँगै काठमाडौँ र अन्य क्षेत्रीय विमानस्थलहरूबाट उडानहरू सामान्य हुँदै गएको बताइएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा हाल पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिएपछि मौसममा थप अस्थिरता देखिएको हो। आज दिउँसो कोशी, लुम्बिनीसहित पहाडी भूभागमा मेघगर्जन, चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ भने केही हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।













