नेपालमा मिडियामाथि बढ्दो जोखिम: वर्षदिनमा पत्रकारिता तथा अभिव्यक्ति स्वतन्त्रता उल्लंघनका ३२ घटना

काठमाडौं । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मिडिया एक्सन नेपालले पत्रकारिता क्षेत्रमाथिको चाप र चुनौती झल्काउने नयाँ प्रतिवेदन सार्वजनिक गरेको छ। ‘त्रासदेखि दण्डहीनतासम्मः नेपालमा मिडियामाथि बढ्दो खतरा’ शीर्षकको वार्षिक प्रतिवेदन शुक्रबार एक विशेष समारोहमा सार्वजनिक गरिएको हो।
चार मे २०२४ देखि एक मे २०२५ सम्मको अवधिमा संकलन गरिएका विवरण अनुसार पत्रकारिता तथा अभिव्यक्ति स्वतन्त्रतामाथि भएका ३२ वटा उल्लंघनका घटनाले ४० जना पत्रकार र सञ्चारमाध्यमलाई प्रत्यक्ष असर पारेका छन्।
कार्यक्रममा मिडिया एक्सन नेपालका कार्यकारी निर्देशक लक्ष्मणदत्त पन्त, सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेश आचार्य, नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा तथा मिडिया एक्सन नेपालकी अध्यक्ष प्रियंका झाले प्रतिवेदन संयुक्त रूपमा सार्वजनिक गरे।
प्रतिवेदनमा दाङका पत्रकार सुरेश भुल र सप्तरीका पत्रकार सुरेश रजकको हत्या, तीन पत्रकारको गिरफ्तारी, २२ वटा धम्की र त्रासका घटना, सूचनाको पहुँचमा अवरोध तथा मिडिया उपकरण कब्जा जस्ता गम्भीर घटनाहरू विशेष रूपमा उल्लेख गरिएको छ।
कार्यक्रममा ‘कृत्रिम बौद्धिकता र प्रेस स्वतन्त्रतामाथि पर्ने प्रभाव’ विषयमा अन्तरक्रिया समेत आयोजना गरिएको थियो। बहसमा सहभागी पत्रकार, कानुनविद् र सञ्चार विज्ञहरूले एआईको प्रयोगसँगै बढ्न सक्ने जोखिम, गलत सूचना प्रवाह तथा नियमनको आवश्यकता औंल्याएका थिए।
अन्तर्क्रियाका क्रममा सञ्चार साक्षरताको खाँचो महसुस गरिएको बताउँदै विज्ञहरूले नीति निर्माण तहमा सक्रिय हस्तक्षेप आवश्यक रहेकोमा जोड दिए।













