जीवन बीमकको प्रथम बीमाशुल्क १३.६९% बढ्यो: अग्रस्थानमा नेपाल लाइफ र नेशनल, अन्यको अवस्था कस्तो ?

२१ बैशाख २०८२, आईतवार १७:१७

काठमाडौं । चालु आर्थिक वर्ष २०८१।०८२ को तेस्रो त्रैमाससम्मको अवधिमा जीवन बीमा कम्पनीहरुले करिब साढे २४ अर्ब रुपैयाँ प्रथम बीमा शुल्क बापत संकलन गरेका छन् । बीमा प्राधिकरणले आज सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्याङ्कले अनुसार हाल सञ्चालनमा रहेका १४ बीमा कम्पनीहरुले २४ अर्ब ४० करोड १ लाख ६३ हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका हुन् ।

कम्पनीलेहरुले आर्जन गरेको उक्त शुल्क गत आर्थिक वर्षको तुलनामा १३.६९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा जीवन बीमा कम्पनीहरुले २१ अर्ब ४६ करोड २७ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका थिए ।

तथ्याङ्क अनुसार सबैभन्दा अगाडि नेपाल लाइफ रहेको छ । सो कम्पनीले ९ महिनामा पाँच अर्ब ९९ करोड ८५ लाख रुपैयाँ संकलन गरेको छ । गत आर्थिक वर्षको तुलनामा प्रथम बीमा शुल्क आर्जन २४.६३ प्रतिशतले बृद्धि भएको छ ।

नोटः बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क सम्बन्धी तथ्याङ्क बीमा प्राधिकरणबाट प्राप्त विवरण अनुसार प्रकाशित गरिएको हो । गत बर्षको तथ्याङ्कमा प्रथम बीमा शुल्कमा बैदेशिक रोजगार म्यादी बीमा समेत समावेश भएको र यस बर्षकोमा उक्त बीमा शुल्क समावेश नभएकोले तथ्याङ्क तलमाथि परेको छ ।

यस्तै, दोस्रो नम्वरमा नेशनल लाइफ पर्न सफल भएको छ । सो कम्पनीले तीन अर्ब ६६ करोड ७९ लाख रुपैयाँ प्रथम बीमा शुल्क बापत संकलन गरेको छ । गत वर्षको तुलनामा कम्पनीको प्रथम बीमा शुल्क १३.५७ प्रतिशतले बृद्धि भएको छ ।

त्यस्तै, तेस्रो नम्वरमा परेको एलआइसी नेपालले एक अर्ब ८९ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा २५.३७ प्रतिशतले बढी हो ।

यस अवधिमा सूर्यज्योति लाइफले एक अर्ब ८१ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्न सफल भएको छ । कम्पनीको प्रथम बीमा शुल्क पनि १६.२८ प्रतिशतले बृद्धि भएको छ ।

चैत मसान्तसम्ममा हिमालयन लाइफले एक अर्ब ७५ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्दा सिटिजन लाइफले एक अर्ब ३५ करोड, एशियन लाइफले एक अर्ब २५ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका छन् ।

९ महिनाको सानिमा रिलायन्सले १ अर्ब १९ करोड, रिलायबल नेपाल लाइफले १ अर्ब १ करोड, मेट लाइफले ९८ करोेड, प्रभु महालक्ष्मीले ९५ करोड, आइएमई लाइफले ९३ करोड, राष्ट्रिय जीवन बीमाले ८६ करोड र सन नेपालले ७२ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*