गौशाला नजिकै मोटरसाइकल चेक गर्दा ९५ लाख भेटियो, चार जना पक्राउ

२१ बैशाख २०८२, आईतवार २१:४७

काठमाडौं । काठमाडौं प्रहरीले आज राजधानी काठमाडौंको गौशाला नजिकै रहेको पिंगलास्थानमा दुई वटा मोटरसाइकल चेकजाँच गर्दा झण्डै एक करोड रुपैयाँ नगद फेला पारेको छ । दुई वटा मोटरसाइकलमा रहेका उनीहरुलाई प्रहरीले चेकजाँच गर्दा ९५ लाख १७ हजार पाँच सय रुपैयाँ नगद फेला पारेको हो ।

सदा झै आज अपरान्ह गौशालाबाट तिलंगा जानेतर्फ नजिकै रहेको होटल पशुपति भिजन अगाडिको सडकमा चेकजाँच सञ्लालन गरेको थियो । दुई वटा मोटरसाइकलमा चार जना सवार थिए । एक जना चालक र अर्को पछाडि बसेका थिए । पछाडि बस्नेले ठूला ठूला झोला बोकेका थिए ।

प्रहरीलाई शंका लागेर चेक जाँच गर्दा एक हजार रुपैयाँ दरका ठूलो मात्रामा नोट फेला पारेको थियो । लगत्तै प्रहरीले रकमको स्रोतबारे जिज्ञाशा राख्दा केही बताउन सकेनन् । रकमको स्रोत बताउन नसकेपछि लगत्तै प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।

अबैध रकम सहित आइतरबार अपरान्ह पक्राउ पर्नेहरुमा काठमाडौं, तार्केश्वर नगरपालिका–३ फेदीका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरी सप्तकोशी नगरपालिका–१ का ४३ वर्षीय गणेश राई, लमजुङ दोर्दी गाउँपालिका–३ का ३१ वर्षीय सन्तोष गुरुङ र ३९ वर्षीय सन्तोष घिमिरे छन् । अपरान्ह करिब ४ बजेको समयमा प्रहरीले सर्च अप्रेशन चलाएको थियो । सोही क्रममा उनीहरु प्रहरीको ट्रेसिङमा परेका थिए ।

प्रहरीले रकम कहाँबाट ल्याएको हो र कसको हो ? भन्ने तथ्य पत्ता लगाउने प्रयास गरिरहेको जनाएको छ । आईजिपीमा दिपक थापा नियुक्त भएपछि अबैध रकम पक्राउ गर्ने ह्वात्तै बृद्धि भएको छ । यसअघि टोखाबाट २५ करोड रुपैयाँको नोट बरामद भएको थियो ।

 

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*