नारायणी अस्पतालको आकस्मिक कक्ष निर्माणमा भ्रष्टाचारः तत्कालीन प्रमुख मेडिकल सुपरिटेन्डेन्ट सहित ९ जनाविरुद्ध मुद्दा

काठमाडौं । वीरगंजस्थित नारायणी अस्पतालमा आकस्मिक कक्ष निर्माणमा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन प्रमुख मेडिकल सुपरिटेन्डेन्ट संजय कुमार ठाकुरसहित ९ जनाविरुद्ध मुद्दा दायर भएको छ।
अनुसन्धानमा भवन निर्माणको मुख्य कामभन्दा सामान्य काम (इन्टरलक ब्लक) लाई आधार बनाएर गलत तरीकाले बोलपत्र स्वीकृत गरेर नेपाल सरकार र नारायणी अस्पताललाई हानीनोक्सानी पुर्याएको खुलेको छ।
लक्षित कम्पनीलाई मात्रै स्वीकृति दिन केही निर्माण कम्पनीलाई इन्टरलक ब्लकको रङ खैरो भएकै कारण त्यो रङ राम्रो नदेखिने भन्दै अस्वीकृत गरेको समेत अनुसन्धानमा खुलेको छ।
यसरी आफू अनुकूलको निर्माण कम्पनीलाई ठेक्का दिएर स्वीकृत लागत अनुमानमा नभएका सामग्री र काम समेत कागजमा थपेर ठेक्काको कागजात तयार पारेर १ करोड ८४ लाख रुपैयाँभन्दा बढी हिनामिना गरेको खुलेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार बराबरको बिगो कायम गरेर आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।













