वैदेशिक रोजगारमा जानेले गरे साढे २ अर्ब बढीको बीमा, कुन कम्पनीमा कति काटियो पोलिसी?

काठमाडौं । वैदेशिक रोजगारमा जानेहरूका लागि बीमा अनिवार्य भएसँगै बीमा कम्पनीहरूले यसैमार्फत् पनि यथेष्ट रकम संकलन गरिरहेका छन्।
माइक्रो सहितका १४ वटा जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको शुरूदेखि चैत मसान्तसम्म (९ महीना) वैदेशिक रोजगार बीमालेखबाट २ अर्ब ५८ करोड ७३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।
यद्यपि नेपाल बीमा प्राधिकरणले वैदेशिक रोजगार बीमालाई पुलमार्फत् सञ्चलन गर्ने निर्णय गरेकाले तथ्यांकमा जसले जतिसुकै वैदेशिक रोजगार बीमा व्यवसाय गरे तापनि हिस्सा बाँडफाँड भने बीमा प्राधिकरणले तोके बमोजिमकै हुनेछ।
जसमा सन नेपाल लाइफले सर्वाधिक ९८ करोड ५५ लाख रुपैयाँ, दोस्रोमा एशियन लाइफले ६७ करोड ४७ लाख रुपैयाँ, तेस्रोमा १८ लाख ११ करोड रुपैयाँ र चौथोमा आइएमई लाइफले १७ करोड ६९ लाख रुपैयाँ आर्जन गरेको छ।

त्यस्तै क्रममा नेशनल लाइफले १५ करोड २६ लाख रुपैयाँ, सानिमा रिलायन्सले १२ करोड ८६ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ८ करोड ६८ लाख रुपैयाँ र सूर्यज्योति लाइफले ७ करोड ९५ लाख रुपैयाँ संकलन गरेको छ।
सिटिजन लाइफले ७ करोड ७५ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ३ करोड १ लाख रुपैयाँ, हिमालयन लाइफले ५७ लाख रुपैयाँ, लिवर्टी माइक्रोले ४० लाख रुपैयाँ, गार्डियन माइक्रो लाइफले ३१ लाख रुपैयाँ र क्रेस्ट माइक्रोले ४ लाख रुपैयाँ संकलन गरेको छ।
कम्पनीहरूले कुल २४ लाख ६८ हजार २१९ सक्रिय बीमालेख बिक्रीबाट उक्त राशीको रकम संकलन गरेका हुन्।













