वस्तुमा स्पष्ट लेबल आवश्यक: सरकारले उत्पादन तथा आयातित सामानमा अनिवार्य जानकारी राख्न निर्देशन

काठमाडौँ । नेपाल सरकारले उपभोक्ताको हित र जानकारीको सुनिश्चितताका लागि उत्पादन तथा आयात गरिएका वस्तुमा अनिवार्य रूपमा लेबल राख्नुपर्ने प्रावधानको स्मरण गराएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार सूचना जारी गर्दै सबै उत्पादक र आयातकर्तालाई कानुन बमोजिम वस्तुमा स्पष्ट र बुझ्न सकिने लेबल राख्न आग्रह गरेको हो ।
नेपालको संविधानको धारा ४४ मा उल्लेख गरिएको उपभोक्ताको हकको भावना तथा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६ को उपदफा ३ अनुसार उत्पादन गरिएका वा आयात गरिएका वस्तुमा उत्पादक वा आयातकर्ताले नेपाली वा अंग्रेजी भाषामा लेबल राख्नुपर्ने कानुनी व्यवस्था रहेको विभागले स्पष्ट पारेको छ ।
सूचनामा भनिएको छ, ‘उक्त लेबलमा उत्पादक वा आयातकर्ताको नाम, ठेगाना, वस्तुमा प्रयोग गरिएका तत्वहरूको विवरण, परिमाण/तौल, गुणस्तर, उत्पादन मिति, अधिकतम खुद्रा मूल्य, ब्याच नम्बर, उपभोग्य अवधि आदि अनिवार्य रूपमा उल्लेख हुनुपर्ने प्रावधान ऐनमा छ ।’
सरकारले विशेष रूपमा आयात गरिएका वस्तुहरूको सन्दर्भमा निर्माता कम्पनीको लेबलमै सबै आवश्यक विवरण उल्लेख भएमा आयातकर्ताले छुट्टै लेबल टाँसिरहनु नपर्ने स्पष्ट पारेको छ । तथापि, बिक्रेताले वस्तुको मूल्य तोक्दा लेबलमा उल्लेखित MRP भन्दा बढी मूल्य तोक्न नपाइने र सो लेबलको विवरण नछोपिने गरी वस्तु बिक्री गर्नुपर्ने बताइएको छ ।













