नेपाली सेनालाई अत्याधुनिक राडारसहित मिसाइल र एयर डिफेन्स स्थापना गर्ने प्रस्ताव संसदमा

२२ बैशाख २०८२, सोमबार १९:५३

काठमाडौं । नेपाली सेनाको क्षमता अभिबृद्धि गरी अत्याधुनिक राडार सिष्टम सहित मिसाइल र एयर डिफेन्स प्रणाली स्थापना गर्नुपर्ने भन्दै प्रतिनिधि सभाको आजको बैठकमा प्रस्ताव पेश भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा प्रस्तुत गर्नु भएको आगामी आवको लागि सरकारको नीति तथा कार्यक्रममाथि हुम्लाका सांसद छिरिङ डम्डुल लामा कार्चेनले यस्तो संशोधन प्र्रस्ताव दर्ता गराएका हुन् ।

नेपाली सेनाको राडार सिष्टम र एयर डिफेन्स सिष्टम प्रभावकारी नहुँदा पटक पटक भारतीय सैनिक जहाज नेपाल छिरेर जासुसी गर्दा समेत केही गर्न नसकिरहेको सन्दर्भमा आजको संसद बैठकमा नेपाली सेनालाई अत्याधुनिक हतियार र प्रतिधिले सुसज्जित बनाउनुपर्ने प्रस्ताव अघि सारिएको हो ।

सम्भवतः नेपालको संसदमा नेपाली सेनालाई अत्याधुनिक प्रविधि र एयर तथा मिसाइल डिफेन्स प्रणाली जडान गरेर अत्याधुनिक बनाउनुपर्ने प्रस्ताव पहिलो पटक उठेको हो । हाल नेपाली सेनासँग एयर डिफेन्स सिष्टम भएपनि बजेट अभाव हुँदा सामान्य प्रकृतिको मात्रै छ । अत्याधुनिक फाइटर जहाज तथा अन्य जासुसी जहाज खसाल्न सक्ने नयाँ प्रविधिको खाँचोबारे संसदमा कुरा उठेको छ ।

उता, नेपाली सेनाका प्रबक्ता जर्नेल गौरव कुमार केसीले नेपाली सेनालाई आधिकिकरण गर्दै लैजाने बिषय सरकारको योजना र बजेटमा निर्भर हुने बताउँदै अहिले पनि एयर डिफेन्स सिष्टम सहितको तैनाथी राष्ट्रिय सुरक्षा योजना अनुसार तैनाथी भइरहेको बताए । जर्नेल केसीले सेनाले सुर्खेतस्थित एयरबेसबाट दैवी प्रकोप उद्धार तथा सुत्केरी उद्धार कार्य भइरहेको जानकारी दिए ।

पछिल्लो समय देशको अर्थतन्त्र कमजोर बन्दै गर्दा सरकारले राष्ट्रिय सुरक्षा तथा रक्षामा पर्याप्त बजेट बिनियोजन गर्न सकिरहेको छैन । देशका हरेक निकायमा चरम राजनीतिक हस्तक्षेपका कारण सबै क्षेत्र जर्जर बन्दै गर्दा नेपाली सेनालाई अत्याधुनिक प्रविधियुक्त बनाउने कार्य प्रभावित बन्दै गइरहेको छ । आधुनिक विश्व नयाँ नयाँ प्रविधिले सुसज्जित भई लेजर हतियारमा पुगिसक्दा पनि नेपाली सेना भने दशकौं पुरानो हतियारको भरमा तालिम गरिरहेको छ । आज संसदमा उठेको बिषयले भने नेपाली सेनामा नयाँ उत्साह पैदा भएको देखिएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*