बिहेको जन्ती पुर्याएर फर्कदै गरेको बस त्रियुगा खोलामा खस्यो

काठमाडौं । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका–५ मा रहेको सिबाई त्रियुगा खोलामा को १ ख ४७५३ नम्बरको बस खसेको छ । सोमबार साझ त्रियुगा खोलामा आएको बाढीले सडकमा प्रयोग गरिएको होमपाइप बगाउँदा बस खोलामा खसेको उदयपुर जिल्ला प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक केदारमान दोङले बताए ।
डिएसपी दोङले सोमबार साझको बाढीले खोलामा बस खसेको र कुनै पनि मानविय क्षति नभएको बताए । उनले भने, ‘खोलाले बस डुबाएको छ । हामिले विभिन्न उपाय लगाएर बस निकाल्ने कोशिस गर्दा पनि सम्भव नभएपछि क्रेन मगाएर निकाल्ने योजना बनाएका छौं। अहिले पनि त्यो बस खोलामै छ ।’
स्थानीय प्रत्यक्षदर्शीका अनुसार बिवाहको जन्ती घर पुर्याएर आफ्नो गन्तव्यतिर गइरहेको बस खोलामा खसेको थियो । सवारी चालक र बसमा रहेका मानिसहरु हाम फालेर बच्च सफल भएका छन् । कमजोर र निर्माणाधिन अवस्थामा रहेको सडक संरचनाले बाढीको बहाव र बसको तौल थेग्न नसकेपछि दुर्घटना भएको देखिन्छ ।













