उपप्रधानमन्त्री सिंहकी दिदीमाथि बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा ठगी मुद्दा चल्ने

काठमाडौँ । नेपाल सरकारका उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहकी दिदी रिता सिंह वैद्यविरुद्ध ठगी मुद्दा चल्ने भएको छ। नेपाल बाल संगठन (बाल मन्दिर)को मूल्यवान जग्गा लिजमा दिएको प्रकरणमा उनीमाथि अन्य संलग्न व्यक्तिहरूसँगै ठगी मुद्दा चलाउने निर्णय महान्यायाधिवक्ता कार्यालयले गरेको हो।
बाल संगठनको अध्यक्ष रहँदा रिताले जग्गा लिजमा दिने निर्णयमा मुख्य भूमिका खेलेकी थिइन्। उक्त निर्णयप्रति विवाद उठेपछि प्रहरीले अनुसन्धान गरी फाइल जिल्ला सरकारी वकिलको कार्यालयमा पठाएको थियो। तर, सो कार्यालयले संलग्नहरूविरुद्ध मुद्दा नचलाउने सिफारिस गरेको थियो।
महान्यायाधिवक्ता कार्यालयले जिल्ला सरकारी वकिलको राय उल्ट्याउँदै ठगी मुद्दा चलाउन निर्देशन दिएको हो। रिता सिंहसँगै निर्णय प्रक्रियामा संलग्न अन्य व्यक्तिहरूको पनि अनुसन्धान भएको छ। अब उनीहरूविरुद्ध औपचारिक रुपमा ठगी अभियोगमा कानुनी प्रक्रिया अघि बढ्नेछ।
नक्सालस्थित बाल मन्दिरको जग्गा लिजमा दिँदा सार्वजनिक सम्पत्तिको दोहन भएको भन्दै लामो समयदेखि यस विषयमा प्रश्न उठ्दै आएको थियो। अब भने सो प्रकरण अदालती प्रक्रियामा प्रवेश गर्ने निश्चित भएको छ।













