गभर्नर नियुक्तिमा भागबण्डा नगरौं, मिरिटोक्रेसीको आधारमा छान्न सांसद डाँगीको सुझाव

काठमाडौं । प्रतिनिधिसभामा बोल्दै सांसद निशा डाँगीले गभर्नर नियुक्ति जस्तो संवेदनशील विषयमा सरकारले अनावश्यक समय खेर फालिरहेको भन्दै गम्भीर आपत्ति जनाएकी छन्। उनले मिरिटोक्रेसीको आधारमा नियुक्ति गर्न सकिने भए पनि सरकार भागबण्डाको हिसाबले पद बाँडफाँडमा अल्झिएको टिप्पणी गरिन्।
‘सरकारले गभर्नर नियुक्तिको विषयमा लामो समय खर्च गरेको देखिन्छ। मिरिटोक्रेसीको आधारमा पनि गभर्नर नियुक्ति गर्न सकिन्छ। सरकारले यस्ता हावादारी कुरामा समय खर्च नगरोस्’ सांसद डाँगीले भनिन्।
उनले सरकारको ध्यान जनताको दैनिक समस्या समाधानमा केन्द्रित हुनुपर्नेमा जोड दिइन्। ‘बर्खायाम सुरु भइसकेको छ। राजधानी काठमाडौं जोड्ने प्रमुख सडकहरू असुरक्षित छन्। लाखौं नागरिकहरू जोखिम मोलेर यात्रा गर्न बाध्य छन्’ भन्दै उनले गुनासो पोखिन्।
त्यस्तै, उनले केही महिनाअघिसम्म ४६ अर्ब ४७ करोड नाफामा रहेको नेपाल विद्युत प्राधिकरण अहिले एक महिनामै ५ अर्ब २६ करोड घाटामा गएको भन्ने समाचारप्रति गम्भीर चिन्ता व्यक्त गरिन्। डाँगीले सो विषयमा ऊर्जा मन्त्रीले सदनमा आएर स्पष्ट जवाफ दिनुपर्ने माग समेत राखेकी छन्।
‘१०–११ महिना भइसक्यो, कहिले कार्यकारी निर्देशक त कहिले गभर्नर पदमा सरकार अड्किएको छ। जनताले भागबण्डा गरेर कसलाई कुन पद दिने भन्ने विषय खोजेका छैनन्’ भन्दै उनले सरकारलाई जिम्मेवारीपूर्वक अगाडि बढ्न आग्रह गरिन्।













