पुँजी बजारमा रौनकः कारोबारमा उछाल, फाइनान्सका लगानीकर्ता मालामाल

काठमाडौँ । शेयर बजारमा उच्च सुधार देखिएको छ । नेप्से सूचक पाँच दिनसम्म राताम्य बनेपछि मंगलवार सामान्य हरियाली देखिएको थियो । तर, बुधबार बजारमा उच्च सुधार आएको हो ।
आज विशेष गरी फाइनान्सको शेयर मूल्यमा सुधार देखिएको छ । कारोबार रकममा समेत आज उछाल देखिएको छ । राजनीतिक अनिश्चितता, मौद्रिक नीतिमा अस्पष्टता र गभर्नर नियुक्तिमा भइरहेको ढिलाइले लगानीकर्ताको मनोबल थप कमजोर बनाएको थियो । सेयर बजारसँग प्रत्यक्ष सरोकार राख्ने केन्द्रीय बैंकका नीति–निर्माणकर्तामाथि लगानीकर्ताको ध्यान केन्द्रित हुँदा गभर्नर कसलाई बनाइने भन्ने चासो समेत बढ्दो छ । निजी क्षेत्रमैत्री र पूँजी बजारप्रति सहज नीति ल्याउने नेतृत्वको खोजी भइरहेको देखिन्छ ।
बैंकहरूको ब्याजदर घट्दै जानु, तरलताको सहजता तथा धितो कर्जाको प्रवाहले बजारलाई टेवा दिएको छ । अब आगामी बजेटमार्फत लगानीमैत्री योजना र माग पक्ष सबल बनाउने कार्यक्रम ल्याउन सकेमा बजारमा नयाँ ऊर्जा आउने विश्वास गरिएको छ । यस्तै सिजनको सुरुआतसँगै बजारमा बिस्तारै चहलपहल बढ्ने अपेक्षा गरिएको छ । लगानीकर्ताले यसै सन्दर्भमा बलिया वित्तीय सूचक भएका कम्पनीमा दीर्घकालीन सोचसहित लगानी गर्नुपर्ने सल्लाह विश्लेषकहरू दिइरहेका छन्।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६१.२६ अकंले बढेर २६७२.७० बिन्दुमा कायम भएको छ। आज ३०८ कम्पनीको २ करोड ७२ लाख ४५ हजार कित्ता शेयर किनबेच हुँदा १० अर्ब ५१ करोड ८४ लाख रुपैयाँको कारोबार भएको छ।
यसदिन १३ वटै उपसूचकमा हरियाली देखिएको छ । आज फाइनान्स समूहको सर्वाधिक ५.५५ प्रतिशतले बढेको हो । बुधबार २२७ कम्पनीको शेयर मूल्य बढेको छ भने १८ कम्पनीको मात्रै मूल्य घटेको छ ।













