प्रधानमन्त्री ओलीद्वारा सुरक्षा परिषद्को बैठक, सीमा नाकामा कडाइ

काठमाडौं । भारत र पाकिस्तानबीच युद्ध सुरु भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाएका छन् । सिंहदरबारमा बसेको बैठकले सीमा नाकामा सुरक्षा व्यवस्थालाई थप कडा बनाउन निर्देशन दिएको छ ।
प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको बैठकमा गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेल, मुख्य सचिव एकनारायण अर्याल, नेपाल सेना रथी निर्मलकुमार थापा, नेपाल प्रहरीका महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाको उपस्थिति रहेको थियो ।
बैठकमा भारत–पाकिस्तान तनावले नेपालको सुरक्षामा पर्न सक्ने असरबारे छलफल भएको थियो । बैठकपछि सशस्त्र प्रहरीलाई सीमा क्षेत्रमा निगरानी कडा पार्न निर्देशन दिइएको छ । गृह मन्त्रालयका अनुसार सबै सुरक्षा युनिटलाई हाइ अलर्टमा राखिएको छ ।
सुरक्षा परिषद्को बैठकले नेपालभित्र आतङ्कवादी वा आपराधिक गतिविधि हुन नदिन आवश्यक सबै संयन्त्र परिचालन गर्ने निष्कर्ष निकालेको छ ।













