तेस्रो त्रैमासमा रिलायन्स स्पिनिङ चम्कियो, आम्दानी र नाफा दुबै उकालो

२४ बैशाख २०८२, बुधबार १७:५३

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३२ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीले अघिल्लो वर्षको यही अवधिमा मात्र २ करोड ६३ लाख रुपैयाँ नाफा कमाएको थियो। यस पटकको नाफा अघिल्लो वर्षको तुलनामा झन्डै ११३२ प्रतिशतले बढी हो।

कम्पनीको सञ्चालन आम्दानी बढेकै कारण यसरी नाफामा उल्लेखनीय वृद्धि देखिएको हो। अघिल्लो वर्ष ७ अर्ब २१ लाख रुपैयाँ रहेको आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ७ अर्ब ३९ करोड १७ लाख रुपैयाँ पुगेको छ। यस्तै, अन्य आम्दानीसमेत ४ करोड २ लाख रुपैयाँ पुगेको छ। यससँगै कम्पनीको कुल आम्दानीमा उल्लेखनीय सुधार आएको देखिन्छ।

वित्तीय खर्चमा पनि उल्लेखनीय गिरावट आएको छ। अघिल्लो वर्ष ४७ करोड २६ लाख रुपैयाँ रहेको खर्च घटेर यस त्रैमासमा ३४ करोड ४२ लाख रुपैयाँमा सीमित भएको छ।

रिलायन्सको चुक्ता पुँजी हाल १ अर्ब ७० करोड ७३ लाख रुपैयाँ रहेको छ भने अन्य इक्विटी ५ अर्ब ६६ करोड रुपैयाँ छ। कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) २५.४९ रुपैयाँ पुगेको छ।

वि.सं. २०५४ मा स्थापना भएको यो उद्योगमा अहिलेसम्म १५ अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ। कम्पनीले ४ हजारभन्दा बढी व्यक्तिलाई प्रत्यक्षरूपमा रोजगारी दिएको छ। सुनसरीमा रहेको कारखानाबाट रिलायन्सले विभिन्न प्रकारका धागो उत्पादन गर्दै आएको छ। यसमा ऊन, सूती, पोलिस्टर, एक्रेलिक र भिस्कोस धागो मुख्य छन्। कम्पनीले घरेलु बजारको माग पुरा गर्नुका साथै भारत, टर्की लगायतका मुलुकमा निर्यातसमेत गर्दै आएको छ।

रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट प्राथमिक सेयर निष्कासन (आइपीओ) गर्ने तयारी गरिरहेको थियो। यस प्रक्रियामा संस्थागत लगानीकर्ताले प्रतिकित्ता ९१२ रुपैयाँमा सेयर खरिद गरेका थिए भने सर्वसाधारणका लागि यसको १० प्रतिशत कम अर्थात् ८२० रुपैयाँ ८० पैसामा बिक्री गर्ने तयारी भएको थियो। तर, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ निष्कासनको प्रयासकै क्रममा वित्तीय विवरणमा देखिएको विसंगतिका कारण विवाद उत्पन्न भयो। सार्वजनिक लेखा समितिले धितोपत्र बोर्डलाई स्पष्टीकरण माग गरेपछि असार २६ गते बोर्डको सञ्चालक समितिको बैठकले आइपीओ प्रक्रिया स्थगित गर्ने निर्णय लिएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*