बाल मन्दिर जग्गा प्रकरणमा उपप्रधानमन्त्री सिंहकी दिदी सहित १७ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । नेपाल बाल मन्दिर जग्गा लिज प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । बुधबार जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
मुद्दा दर्ता हुनेहरुमा गणेशमान सिंहकी छोरी तथा नेपाल बाल संगठनकी तत्कालीन अध्यक्ष रीता सिंह, नेपाल बाल संगठनकी तत्कालीन उपाध्यक्ष तुलसी नारायण श्रेष्ठ, नेपाल बाल संगठनकी तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठ, कृष्ण शंकर साह, श्याम कुमार आले, सुवास कुमार पोखरेल, प्रचण्ड राज प्रधान, राम काजी गुरुङ कोने, योगेन्द्र बहादुर शाही, दिपकदास श्रेष्ठ, प्रविण राज जोशी, मुरारी निधि तिवारी, पुरुषोत्तम राज जोशी, श्रद्धा संघाई रहेका छन् ।
त्यस्तै अन्य ३ जना भारतीय नागरिकविरुद्ध पनि मुद्दा चलाइएको छ । जसमा भारत घर भएका बृहस्पति विद्यालय व्यवस्थापन प्रा.लिका संचालक अभिनव सिंघानिया, सिद्धार्थ केडिया र कीर्ति प्रसाद पाण्डेय रहेका छन् ।
बाल संगठनको अध्यक्ष रहँदा रिताले जग्गा लिजमा दिने निर्णयमा मुख्य भूमिका खेलेकी थिइन्। उक्त निर्णयप्रति विवाद उठेपछि प्रहरीले अनुसन्धान गरी फाइल जिल्ला सरकारी वकिलको कार्यालयमा पठाएको थियो। तर, सो कार्यालयले संलग्नहरूविरुद्ध मुद्दा नचलाउने सिफारिस गरेको थियो।













