कोटेश्वरमा बसको ठक्करबाट एकको मृत्यु, तीन जना घाइते

२५ बैशाख २०८२, बिहीबार ०८:५८

काठमाडौं । काठमाडौंको कोटेश्वर–तीनकुने सडकखण्डको मुनिभैरव मन्दिर नजिक आज बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

रातो बत्ती बलेको बेला सडकमा रोकिराखेको भ्यान र मोटरसाइकललाई पछाडिबाट बसले ठक्कर दिँदा दुर्घटना भएको हो।

मोटरसाइकलमा पछाडि बसेकी २३ वर्षीया युवतीको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको छ। उनी नुवाकोटकी स्थायी बासिन्दा हुन् र हाल ललितपुरमा बसोबास गर्दै आएकी थिइन्।

घटनामा मोटरसाइकल चालक, भ्यान चालक र बसकी महिला यात्रु गरी तीन जना घाइते भएका छन्।

बिहान करिब साढे ६ बजे बा ३ ख ७०६२ नम्बरको बसले रोकिराखेको बा प्र ०१–०२६ च २९२७ नम्बरको भ्यान र बा प्र ०२–०५३ प ३८२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

बस चालकलाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*