ईभी गाडीमा बिवाईडीको आँधी, टेस्लालाई उछिन्दै युरोपमा ७५०% ले बढ्यो बिक्री

२५ बैशाख २०८२, बिहीबार १२:५६

काठमाडौँ ।  चीनको विद्युतीय सवारी साधन (ईभी) क्षेत्रको अगुवा कम्पनी बिवाईडी युरोपमा तीव्र गतिमा आफ्नो उपस्थिति बलियो बनाउँदै गएको छ । अप्रिल महिनामा बिवाईडीले जर्मनी र बेलायतमा टेस्लालाई बिक्रीमा पछि पारेको छ । नयाँ मोडेलहरू बजारमा ल्याउने तयारीमा रहेको बिवाईडीको यो वृद्धि अझै निरन्तर रहने संकेत देखिएको छ ।

अप्रिल २०२५ मा बिवाईडीले ३ लाख ८० हजारभन्दा बढी नयाँ उर्जा सवारी साधन (एनईभी), विद्युतीय सवारी (ईभी) र प्लग–इन हाइब्रिड (पीएचईभी)  बिक्री गर्‍यो, जुन गत वर्षको तुलनामा २१ प्रतिशतले वृद्धि भएको हो । सन् २०२२ देखि बिवाईडीले पेट्रोल/डिजेल सवारी साधन उत्पादन गर्न छाडेर विद्युतीय र प्लग–इन हाइब्रिड सवारीमा केन्द्रित हुँदै आएको छ, र यस रणनीतिले कम्पनीलाई उल्लेखनीय सफलता दिलाएको छ ।

पहिलो पटक विगत एक वर्षभन्दा बढी समयपछि बिवाईडीले आफ्ना विद्युतीय सवारी साधनको बिक्री प्लग–इन हाइब्रिडभन्दा बढी गर्‍यो । अप्रिलमा कम्पनीले १ लाख ९५ हजारभन्दा बढी विद्युतीय सवारी बिक्री गर्‍यो, जुन अघिल्लो वर्षको तुलनामा ४५ प्रतिशतले वृद्धि हो । पीएचईभीतर्फ १ लाख ७६ हजार सवारी बिक्री भए, जुन स्थिर रह्यो ।

विदेशी बजारमा पनि बिवाईडीको उपस्थिति दिनानुदिन बलियो बन्दै गएको छ । अप्रिलमा कम्पनीले ७९ हजारभन्दा बढी सवारी साधन विदेशमा बिक्री गर्‍यो, जुन लगातार पाँचौं महिनाको वृद्धिदर हो । हालसम्मको चार महिनामा बिवाईडीले विदेशी बजारमा २ लाख ८५ हजारभन्दा बढी सवारी बिक्री गरिसकेको छ, जुन अघिल्लो वर्षको तुलनामा दोब्बर हो ।

जर्मनीको संघीय सडक यातायात निकाय (केबीए) द्वारा सार्वजनिक गरिएको तथ्यांक अनुसार बिवाईडीले अप्रिलमा जर्मनीमा १ हजार ५६६ सवारी बिक्री गर्‍यो, जुन गत वर्षको तुलनामा ७५६ प्रतिशतले वृद्धि हो । सोही अवधिमा टेस्लाले भने जम्मा ८५५ सवारी बिक्री गर्‍यो, जुन ४६ प्रतिशतको गिरावट हो ।

२०२५ को पहिलो चार महिनामा बिवाईडीले जर्मनीमा २ हजार ७९१ सवारी बिक्री गरिसकेको छ (३८५% वृद्धि), जबकि टेस्लाको बिक्री ५ हजार ८२० मा सीमित (६०% घटावट) रहेको छ ।

बेलायतमा पनि बिवाईडीले अप्रिलमा टेस्लालाई पछि पार्‍यो । बेलायतको सोसाइटी अफ मोटर म्यानुफ्याक्चरर्स एन्ड ट्रेडर्स (एसएमएनटी) अनुसार, बिवाईडीले अप्रिलमा २ हजार ५११ सवारी बिक्री गर्‍यो, भने टेस्लाले मात्र ५१२ सवारी बिक्री गर्‍यो । यस वर्षको चार महिनामा बिवाईडीले बेलायतमा ११ हजार ७८२ सवारी बिक्री गरिसकेको छ भने टेस्लाको बिक्री १२ हजार ९८६ रहेको छ ।

बिवाईडीले गत महिना आफ्नो लक्जरी ब्रान्ड डेन्जा युरोपमा सार्वजनिक गरिसकेको छ भने अब छिट्टै सबैभन्दा सस्तो विद्युतीय सवारी सिगल  पनि युरोपमा ल्याउने तयारीमा छ । युरोपमा यो डल्फिन सर्फ  नाममा ल्याइनेछ, जसको मूल्य २६,००० अमेरिकी डलर भन्दा कम हुने अनुमान छ । चीनमा भने सिगलको मूल्य ६९,८०० युआन (अर्थात् करिब १०,००० डलर) मात्र छ र यो बिवाईडीको सबैभन्दा बढी बिक्री हुने मोडेल हो — अप्रिलमा मात्रै ५५,००० भन्दा बढी युनिट बिक्री भयो ।

एसएन्डपी ग्लोबल मोबिलिटीको पूर्वानुमान अनुसार, सन् २०२५ मा बिवाईडीको युरोपमा बिक्री ८३,००० बाट दोब्बर वृद्धि भई १ लाख ८६ हजार पुग्नेछ भने २०२९ सम्म त्यो संख्या ४ लाख नाघ्न सक्छ ।

बिवाईडीले अन्तर्राष्ट्रिय विस्तारलाई अझ तीव्र बनाउने उद्देश्यले आफ्नै चौथो कार ट्रान्सपोर्ट जहाज “बिवाईडी शेन्जेन” पनि हालै समुद्रमा उतारेको छ । यसमा ९,२०० सवारी बोक्ने क्षमता छ र यो हाल विश्वकै सबैभन्दा ठूलो सवारी बोक्ने जहाज हो । बिवाईडीको यो गति हेर्दा अबको दिनमा टेस्लालाई युरोपमा पनि कडा प्रतिस्पर्धा झेल्नुपर्ने अवस्था देखिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*