निर्जीवन बीमाको तुलनामा दोब्बरले बढ्यो जीवन बीमा कम्पनीहरुको व्यवसाय ( तथ्याङ्क सहित)

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीको तुलनामा जीवन बीमा कम्पनीको व्यवसायमा आकर्षक सुधार देखिएको छ।
नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार १४ ओटा निर्जीवन बीमा कम्पनीले कुल २१ लाख ३५ हजार २३३ ओटा बीमालेख जारी गरी ३२ अर्ब १२ करोड ९९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।
अघिल्लो वर्ष यही अवधिसम्म उनीहरूले २१ लाख ९३ हजार ५४७ बीमालेखबाट २९ अर्ब ९९ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क उठाएका थिए । अघिल्लो वर्षको तुलनामा चालू वर्षमा निर्जीवन बीमा कम्पनीहरूको व्यापार ७ दशमलव ११ प्रतिशतले बढेको प्राधिकरणले जानकारी दिएको छ ।

निर्जीवन बीमाको तुलनामा जीवन बीमा कम्पनीहरूको व्यवसाय वृद्धिदर दोब्बरले बढी छ । चालू वर्षको चैतसम्ममा १४ ओटा जीवन बीमा कम्पनीले १ करोड ३५ लाख ३९ हजार ५१० बीमालेख विक्री तथा नवीकरणबाट १ खर्ब २६ अर्ब १८ करोड १२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।
अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीहरूले १ करोड ३८ लाख ३२ हजार ६१० बीमालेख विक्री तथा नवीकरणबाट १ खर्ब १० अर्ब ८ करोड २७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए । अघिल्लो वर्षको तुलनामा चालू वर्षमा कम्पनीहरूको बीमालेख संख्या घटे पनि बीमा शुल्क संकलन भने १४ दशमलव ६२ प्रतिशतले बढेको छ ।

आर्थिक तथा व्यावसायिक गतिविधिमा शिथिलता आएसँगै बीमा कम्पनीहरूको व्यवसाय पनि प्रभावित हुँदै आएको छ ।गतसाता मात्र राष्ट्रिय तथ्यांक कार्यालयले चालू आर्थिक वर्ष (आव) मा उद्योग, निर्माण क्षेत्र र थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवाक्षेत्रको वृद्धिदर सकारात्मक हुने प्रक्षेपण सार्वजनिक गरेको थियो ।
अर्थतन्त्रको मापन गर्ने १८ ओटा क्षेत्रमध्ये वित्तीय तथा बीमाक्षेत्रको वृद्धि ६ दशमलव २९ प्रतिशत हुने कार्यालयको प्रक्षेपण छ ।प्राधिकरणका अनुसार अघिल्लो आवको तुलनामा चालू वर्षको चैतसम्ममा सबै जीवन बीमकको व्यापार बढेको छ । ११ ओटा निर्जीवन बीमकको व्यवसाय बढ्दा ३ ओटाको भने घटेको छ ।













