‘म्यान-सिटिजन्स अस्पायरिङ म्यानेजर अवार्ड’ स्थापना गर्न सिटिजन्स बैंक र म्यानबीच सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र म्यानेजमेन्ट एशोसिएशन अफ नेपाल (म्यान) बीच संयुक्त रूपमा “म्यान–सिटिजन्स अस्पायरिङ म्यानेजर अवार्ड” स्थापना गर्ने सहमति भएको छ। यो अवार्ड व्यवस्थापन संकाय अन्तर्गत एम.बि.ए. मा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई सम्मान गर्ने र प्रोत्साहन दिने उद्देश्यले ल्याइएको हो।
आज बैशाख २५ गते, म्यानको कार्यालयमा आयोजित कार्यक्रममा सो सहमति पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र म्यानका अध्यक्ष मोहन राज ओझाले हस्ताक्षर गरे।
यो पुरस्कार पुर्वाञ्चल युनिभर्सिटी अन्तर्गत एम.बि.ए. मा उत्कृष्टता प्रदर्शन गर्ने प्रतिभाशाली विद्यार्थीलाई हरेक वर्ष प्रदान गरिनेछ। पुरस्कारको राशी रु ५१,००० (एकाउन्न हजार रुपैयाँ) तोकिएको छ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड यस अवार्डको प्रायोजक हुनेछ र वार्षिक रूपमा आवश्यक रकम उपलब्ध गराउनेछ।
उत्कृष्ट विद्यार्थीको चयनका लागि सिटिजन्स बैंक, पुर्वाञ्चल युनिभर्सिटी र म्यानेजमेन्ट एशोसिएशन अफ नेपालका प्रतिनिधिहरू सम्मिलित समिति गठन गरिनेछ। यो पुरस्कार हरेक वर्ष माघ महिनामा म्यानद्वारा आयोजित म्यानेजमेन्ट कन्भेन्सनको अवसरमा प्रदान गरिनेछ।
सिटिजन्स बैंकले विश्वास लिएको छ कि यस कदमले नेपालको म्यानेजमेन्ट शिक्षा क्षेत्रमा सकारात्मक योगदान पुर्याउनेछ।
हालै मात्र सिटिजन्स बैंकले विश्वकै प्रतिष्ठित अवार्ड “बैंक अफ द इयर २०२४” प्राप्त गर्न सफल भएको छ। त्यस्तै, बैंकले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” (भर्चुअल क्रेडिट कार्ड) संचालनमा ल्याएको छ। साथै, मोबाइल बैंकिङ एपमार्फतै शेयर आवेदन दिन सकिने तथा सिआरएन नम्बर सेवा समेत सुरु गर्दै डिजिटल बैंकिङ्गको क्षेत्रमा अग्रणी भूमिका खेल्दै आएको छ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशभर ६१ जिल्लामा फैलिएका २०० वटा शाखा, १६८ वटा ए.टि.एम., ३ वटा विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ्ग इकाइहरूबाट १८ लाख ८६ हजारभन्दा बढी ग्राहकहरूलाई आधुनिक सेवा प्रदान गर्दै आइरहेको छ।













