डेडिकेटेड तथा ट्रंकलाइन विवाद चाँडै समाधान हुन्छः ऊर्जामन्त्री खड्का

२५ बैशाख २०८२, बिहीबार १८:२३

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता सम्बन्धी विवाद चाँडै समाधान हुने विश्वास व्यक्त गरेका छन्।

विद्युत नियमन आयोगको वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाल विद्युत प्राधिकरणले उपभोक्ताले मागेको बिल समयमा उपलब्ध गराउन नसक्दा कानुनी अड्चन सिर्जना भएको बताए। तर अब यो विषयमा छिट्टै टुंगो लाग्नेमा आफू आशावादी रहेको उनले प्रष्ट पारे।

‘मैले कहिल्यै पनि डेडिकेटेड र ट्रंकलाइनको बक्यौता नउठाउन भनेको होइन’ मन्त्री खड्काले भने, ‘सरकारले दुवै पक्षलाई न्याय हुने गरी बक्यौता उठाउन भनिरहेको छ, त्यसैले अब यस विषयलाई निष्कर्षमा पुर्‍याउने काममा लाग्नुपर्छ।’

कार्यक्रममा उनले विद्युत क्षेत्रको नियमन गर्न अधिकारसम्पन्न निकाय हुँदाहुँदै पनि टीओडी मिटर (टाइम अफ डे मिटर) जस्तो विषयमा लामो समय विवाद भइरहुनु लज्जास्पद भएको टिप्पणी गरे।

मन्त्री खड्काले राम्रो काम गर्न खोज्दा पनि व्यक्तिगत वा संस्थागत स्वार्थ नमिल्दा अनावश्यक रूपमा मिडियामा प्रचार गरिने गुनासो समेत गरे।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*