एनआईसी एशिया लघुवित्तको खुद नाफा सामान्य बढेपनि आम्दानी खुम्चियो

२६ बैशाख २०८२, शुक्रबार ०७:३९

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४९ करोड ५९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

कम्पनीले गत आवको यसै अवधिसम्म ६२ करोड ७२ लाख रूपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी करीब २१ प्रतिशतले खुम्चिएको हो।

कम्पनीले खराब कर्जा घटाउन नसक्दा आम्दानीमा असर परेको हो। कम्पनीको खराब कर्जा गत वर्ष १३.५३ प्रतिशत रहेकोमा यस वर्ष १३.५५ प्रतिशत पुगेको छ।

कम्पनीले गत वर्ष २ करोड १८ लाख रूपैयाँ सञ्चालन नाफा गरेकोमा यस वर्ष ९१ प्रतिशतभन्दा धेरैले घटेर १८ लाख रूपैयाँमा झरेको छ।

यद्यपि कम्पनीको खुद नाफा भने गत वर्ष १२ लाख ५५ हजार रूपैयाँ रहेकोमा चालू आवमा सामान्य बढेर १२ लाख ९८ हजार रूपैयाँ पुगेको छ।

चुक्ता पूँजी १ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३ करोड रूपैयाँ र रिजर्भमा ७९ करोड रुपैयाँभन्दा बढी सञ्चिति रहेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी (वार्षिक) गत वर्ष ०.१० रुपैयाँ रहेकोमा चालू आवमा पनि सोही १० पैसा नै रहेको छ भने प्रतिशेयर नेटवर्थ १४७.२४ रुपैयाँ रहेको छ।

कम्पनीले करीब १६ अर्ब रुपैयाँ सापटी लिएर १७ अर्ब ३५ करोड रुपैयाँ कर्जा प्रवाह र करीब २ अर्ब रूपैयाँ निक्षेप संकलन गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*