सानिमा रिलायन्स लाइफको नाफा करीब ११ प्रतिशत बढ्यो, जीवन बीमा कोष १८ अर्ब नजिक

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ३३ करोड ७६ लाख रूपैयाँ खुद नाफा गरेको छ।
गत वर्षको यसै अवधिसम्म ३० करोड ४८ लाख रूपैयाँ खुद नाफा गरेको कम्पनीले यस वर्ष १०.७७ प्रतिशत बढी खुद नाफा गरेको हो।
कम्पनीको जीवन बीमा कोष गत वर्ष १२ अर्ब ३६ करोड रूपैयाँ रहेकोमा यस वर्ष ४४ प्रतिशतले वृद्धि भएर १७ अर्ब ८१ करोड रूपैयाँ नाघेको छ।
यस वर्ष कम्पनीको खुद ब्याज आम्दानी पनि ४ अर्ब १ करोड रूपैयाँबाट बढेर ४ अर्ब ६५ करोड रूपैयाँ नाघेको छ भने कुल आम्दानी पनि ५ अर्ब २२ करोड रूपैयाँबाट बढेर ६ अर्ब १२ करोड रूपैयाँ पुगेको छ।
कम्पनीको कुल खर्च पनि गत वर्ष ४ अर्ब ९२ करोड रूपैयाँ रहेकोमा यस वर्ष बढेर ५ अर्ब ७८ करोड रूपैयाँ नाघेको छ।
चुक्ता पूँजी ५ अर्ब १ करोड रूपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा साढे १ करोड रूपैयाँभन्दा बढी, जगेडा कोषमा करीब ३१ करोड रूपैयाँ सञ्चिति रहेको छ।
कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) गत वर्ष ९.७१ रूपैयाँ रहेकोमा यस वर्ष घटेर ८.९८ रूपैयाँमा झरेको छ भने प्रतिशेयर नेटवर्थ ११०.६० रूपैयाँ रहेको छ।













