सीआईटीद्वारा नौ महिनामा ८८ करोड मुनाफा आर्जन, कोषमा तीन खर्बबढी रकम सञ्चिती

काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । आइतबार प्रकाशित वित्तीय विवरण अनुसार कोषको मुनाफा र कमिशन आम्दानी लगायतका सूचांकमा सुधार देखिएको छ ।
समीक्षा अवधिमा कोषको नाफामा सामान्य मात्र सुधार भएको छ । कोषसले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ८८ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा १.८८ प्रतिशतले मात्र धेरै हो ।
प्रकाशित विवरण अनुसार कोषको ब्याज आम्दानी ३२.०३ प्रतिशतले घटेर २४ करोड १ लाख रुपैयाँमा सीमित भएको छ । यस अवधिमा कोषले सेवा तथा कमिसनबाट हुने आम्दानी १५.०६ प्रतिशतले बढाएर १ अर्ब १९ करोड ८६ लाख रुपैयाँ पुर्याएको छ ।
चुक्ता पुँजी ६ अर्ब ४८ करोड रुपैयाँ रहेको कोषको जगेडा तथा अन्य विभिन्न कोषमा गरी तीन खर्ब बढी रकम जम्मा रहेको छ । पुँजी बढेअनुसार नाफा वृद्धि नहुँदा प्रतिसेयर आम्दानी ३.६५ रुपैयाँले घटेर १८.४९ रुपैयाँमा आएको छ । प्रतिसेयर नेटवर्थ १४७.४५ रुपैयाँ छ ।













