चैतसम्म निक्षेप र कर्जा दुबैमा वृद्धि, घरजग्गा धितोमा लगानी उच्च

२८ बैशाख २०८२, आईतवार १७:२७

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३ खर्ब ६८ अर्ब ४७ करोड रुपैयाँले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, यो वृद्धि ५.७ प्रतिशतको दरले भएको हो । अघिल्लो वर्षको सोही अवधिमा भने निक्षेप ७.२ प्रतिशतले अर्थात् ४ खर्ब ९ अर्ब ४ करोड रुपैयाँले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा हेर्दा, २०८१ चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थामा रहेको कुल निक्षेप ११.५ प्रतिशतले बढेको देखिन्छ ।

२०८१ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती खाताको अंश ५.७ प्रतिशत, बचत खाताको अंश ३५.८ प्रतिशत र मुद्दती खाताको अंश ५१.० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्ता खाताहरूको अंश क्रमशः ५.२, ९.१ र ५८.९ प्रतिशत थियो । सोही अवधिमा कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.४ प्रतिशत रहँदा अघिल्लो वर्षको सोही अवधिमा यो अनुपात ३५.७ प्रतिशत थियो ।

यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३ खर्ब ६१ अर्ब ३ करोड रुपैयाँले बढेको छ, जुन ७.१ प्रतिशतको वृद्धि हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २ खर्ब २२ अर्ब २१ करोड रुपैयाँले अर्थात् ४.६ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ८.३ प्रतिशतले वृद्धि भएको देखिएको छ । २०८१ चैत मसान्तसम्म कुल कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाहित कर्जाको अंश ६३.४ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ ३६.६ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यो अनुपात क्रमशः ६२.७ प्रतिशत र ३७.३ प्रतिशत थियो ।

बैंकहरूको वर्ग अनुसार कर्जा प्रवाहमा पनि फरक देखिएको छ । वाणिज्य बैंकहरूको कर्जा ७.४ प्रतिशतले, विकास बैंकहरूको ४.६ प्रतिशतले र वित्त कम्पनीहरूको कर्जा ६.४ प्रतिशतले बढेको छ । कुल कर्जामध्ये १४.६ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को सुरक्षणमा प्रवाहित भएको छ भने ६५.२ प्रतिशत कर्जा घरजग्गा धितोको आधारमा प्रवाह गरिएको छ । अघिल्लो वर्ष यिनै अनुपात क्रमशः ११.४ र ६७.६ प्रतिशत थिए ।

कर्जा प्रवाहको क्षेत्रगत विवरण हेर्दा, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ९.६ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ११.४ प्रतिशतले, थोक तथा खुद्रा व्यापारतर्फको कर्जा ५.२ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १०.२ प्रतिशतले, सेवा उद्योगतर्फको कर्जा ८.६ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा ८.३ प्रतिशतले बढेको छ ।

त्यसैगरी, प्रवाहित कर्जाको स्वरूप हेर्दा, आवधिक कर्जा ४.९ प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा ३७.८ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा ६०.६ प्रतिशतले, हायर पर्चेज कर्जा ४.१ प्रतिशतले, नगद प्रवाह कर्जा ५.२ प्रतिशतले र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासहित) ४.९ प्रतिशतले बढेको छ । यता, अधिविकर्ष कर्जा भने १२.१ प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*