शिखर इन्स्योरेन्सको खुद नाफा ३५ करोड ७० लाख, अधिकांश सूचक मजबूद

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८१।०८२ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीका अधिकाश सूचक सकारात्मक यात्रामा देखिएको हो ।
चालु आवको चैत मसान्तसम्मको अवधिमा कम्पनीको मुनाफामा ३५ करोड ७० लाख ५४ हजार रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १.७९ प्रतिशतले बढी हो । कम्पनीले गत आवको सोही अवधिमा ३५ करोड ७ लाख ६१ हजार रुपैयाँ मुनाफा रहेको थियो ।
समीक्षा अवधिमा शिखर इन्स्योरेन्सको बीमा कोष २८.२० प्रतिशतले बढेर ६ अर्ब ७८ करोड ७० लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको बीमा कोष ५ अर्ब २९ करोड ४० लाख रुपैयाँ रहेको थियो ।
यस अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन गत आर्थिक वर्षको तुलनामा १६.५७ प्रतिशतले बढेर १ अर्ब २० करोड ८३ लाख रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा कम्पनीको यस्तो व्यवसाय १ अर्ब ३ करोड ६६ लाख रुपैयाँ रहेको विवरणले देखाएको छ ।
प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको चुक्तापूँजी २ अर्ब ९२ करोड, महाविपत्ती कोष १०.५८ प्रतिशतले बढेर १ अर्ब ८६ करोड र रिटेन्ड अर्निङ १६ करोड २३ लाख रुपैयाँ सञ्चिति रहेको छ ।
चैत मसान्तसम्मको अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ २९ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९५ रुपैयाँ ८१ पैसा रहेको छ ।













