नेपाल इन्स्योरेन्सको व्यवसाय ७ प्रतिशतले बढ्यो, खुद नाफा १७ करोड

२९ बैशाख २०८२, सोमबार ०८:२४

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको मुनाफामा सामान्य गिरावट आएतापनि व्यवसाय लगायतका प्रमुख सूचांकहरुमा सुधार देखिएको छ ।

समीक्षा अवधिमा कम्पनीले १७ करोड ८४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको तुलनामा कम्पनीको यस्तो मुनाफा ३९ प्रतिशतले घटेको छ । गत आवको सोही अवधिमा कम्पनीले २९ करोड ४६ लाख रुपैयाँ बराबरको मुनाफा आर्जन गरेको थियो ।

नेपाल इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन ७.३७ प्रतिशतले बृद्धि भएर एक अर्ब २७ करोड ९७ लाख रुपैयाँ रहेको छ । कम्पनीले गत आवको सोही अवधिमा एक अर्ब १९ करोड १९ लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेको थियो ।

आम बीमितहरुलाई बीमा गरेपछि आवश्यक रहने भनेको बीमा दावी भुक्तानी हो । नेपाल इन्स्योरेन्स बीमा दावी भुक्तानीमा पनि अब्बल बन्दै आएको छ । चालु आवको नौ महिनामा कम्पनीले ५४ करोड २४ लाख रुपैयाँको बीमा दावी भुक्तानी दिएको छ । जुन गत आवको तुलनामा ५३ प्रतिशत बढी हो ।

समीक्षा अवधिमा कम्पनी कर्जा तथा लगानी मार्फत २१ करोड २४ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । चुक्ता पुँजी एक अर्ब ८९ करोड रहेको नेपाल इन्स्योेरेन्सको जगेडा कोषमा ८ करोड ७१ लाख रुपैयाँ र बीमा कोषमा दुई अर्ब ७८ करोड ८२ लाख रुपैयाँ सञ्चिती रहेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ५८ पैसा र नेटवर्थ पर शेयर १९० रुपैयाँ ९१ पैसा रहेको छ । समीक्षा अवधिमा कम्पनीमा एक लाख ६० हजार बीमा पोलिसी कायम रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*