ऋण लिएर शेयर खरिद गर्नेहरु बढ्दैः बैंक-वित्तीय संस्थाबाट १ खर्ब २४ अर्ब प्रवाह, कुनबाट कति ? (सूचीसहित)

२९ बैशाख २०८२, सोमबार १३:१०

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको मार्जिन प्रकृतिको कर्जा प्रवाह बढेको छ । चालु आर्थिक वर्ष २०८१/०८२ को तेस्रो त्रैमाससम्म (साउनदेखि चैतसम्म) मा बैंक तथा वित्तीय संस्थाहरुबाट १ खर्ब २४ अर्ब ९ करोड ५३ लाख रुपैयाँ मार्जिन प्रकृति अर्थात शेयर धितो कर्जामा लगानी भएको हो ।

गत आर्थिक वर्षको सोहि अवधिमा बैंक–वित्तीय संस्थाहरुले ६७ अर्ब ५२ करोड रुपैयाँको शेयर धितो कर्जा दिएका थिए । जस अनुसार एक वर्षको अवधिमा मात्रै बैंक–वित्तीय संस्थाहरुले करिब ३८ अर्ब रुपैयाँ र ४४.०२ प्रतिशतले शेयर धितो कर्जा प्रवाह भएको छ ।

वाणिज्य बैंकहरुको शेयर धितो कर्जा ५० प्रतिशत बढ्यो

चालु आर्थिक वर्ष २०८१/०८२ को ९ महिनामा वाणिज्य बैंकहरूबाट १ खर्ब १ अर्ब ६० करोड रुपैयाँ मार्जिन प्रकृति अर्थात शेयर धितो कर्जामा लगानी भएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८१।०८२ को सोही अवधिको तुलनामा शेयर धितो कर्जा ५०.४७ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्म वाणिज्य बैंकहरूबाट ६७ अर्ब ५२ करोड रुपैयाँ शेयर धितो कर्जामा लगानी भएको थियो ।

१७ बैंकहरूले शेयर कर्जामा लगानी बढाएका छन् भने २ बैंकले घटाएका छन् । यसअवधिमा ८ बैंकको शेयर धितोकर्जा ५ अर्बभन्दा बढी रहेको छ ।

यसअवधिमा नेपाल एसबिआई बैंकले सर्वाधिक ३८८.३२ प्रतिशतले शेयर धितो कर्जाको लगानी विस्तार गरेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा एसबिआई बैंकको शेयर कर्जा लगानी ६१ करोड ३९ लाख रुपैयाँ पुगेको छ ।

त्यसैगरी, माछापुच्छे बैंकको शेयर कर्जा लगानी २६४.६८ प्रतिशतले बढेर १ अर्ब ८१ करोड २ लाख रुपैयाँ, कृषि विकास बैंकको १३६ प्रतिशतले बढेर ३ अर्ब ३ करोड रुपैयाँ, कुमारी बैंकले १२७ प्रतिशतले बढेर ९ अर्ब १३ करोड रुपैयाँ र एनएमबि बैंकले १३२ प्रतिशतले बढेर २ अर्ब ९ करोड रुपैयाँ पुगेको छ ।

यता, चैत मसान्तसम्ममा सबैभन्दा बढी कर्जा लगानी नबिल बैंकले गरेको छ । नबिलले यसअवधिमा कुल १४ अर्ब ५० करोड ७१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

विकास बैंकहरुको शेयर धितो कर्जा लगानी २२.३० प्रतिशतले बढ्यो

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा विकास बैंकहरुले १८ अर्ब २८ करोड १० लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेका छन् । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २२.३० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा विकास बैंकहरुले १४ अर्ब ९४ करोड ७६ लाख रुपैयाँ शेयर धितो कर्जा दिएका हुन् ।

सर्वाधिक शेयर धितो कर्जा प्रवाह वृद्धि गर्नेमा सप्तकोशी डेभलमपमेन्ट बैंक रहेको छ । चालु आवको चैत्र मसान्तसम्मको अवधिमा बैंकले आफ्नो शेयर धितो ६२६ प्रतिशतले बढाएर १२ करोड २२ लाख रुपैयाँ पुराएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले कर्जा प्रवाह १ करोड ६८ लाख रुपैयाँ रहेको थियो ।

मुक्तिनाथ विकास बैंकले सर्वाधिक शेयर धितो कर्जा दिएको छ । बैंकको शेयर धितो कर्जा ४५.३७ प्रतिशतले बढेर ३ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ ।

यता, गरिमा विकास बैंकले २ अर्ब ९९ करोड रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेको छ ।

फाइनान्सले कति दिए शेयर धितो कर्जा ?

चालु आवको ९ महिनामा फाइनान्स कम्पनीहरुले ४ अर्ब २० करोड ७२ लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेका छन् । जुन गत आर्थिक वर्षको तुलनामा १४.१२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा फाइनान्स कम्पनीले ३ अर्ब ६८ करोड रुपैयाँ शेयर धितो कर्जा दिएका थिए ।

सर्वाधिक शेयर धितो कर्जा विस्तारमा सेन्ट्रल फाइनान्स अघि रहेको छ । फाइनान्सले शेयर धितो कर्जा ११९३ प्रतिशतले बढाएर ११ करोड ६५ लाख रुपैयाँ पुराएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा उक्त कम्पनीले ९० लाख रुपैयाँ मात्रै शेयर धितो कर्जा प्रवाह गरेको थियो ।

समिक्षा अवधिमा सर्वाधिक शेयर धितो कर्जा प्रवाह गर्ने फाइनान्समा मञ्जुश्री र आइसिएफसि रहेको छ । मञ्जुश्रीले शेयर धितो कर्जा प्रवाह १९.४१ प्रतिशतले बढाएर ७५ करोड ५० लाख र आइसिएफसि फाइनान्सले १.७० प्रतिशतले बढाएर ५१ करोड ४४ लाख रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*