उपभोक्ता ऐन उल्लंघन गर्ने एक कम्पनीलाई दुई लाख जरिवाना

काठमाडौं । नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालित आठ वटा उद्योग र फर्ममा आपूर्ति अनुगमन तथा उपभोक्ता संरक्षणसम्बन्धी निरीक्षण गरी विभिन्न निर्देशन तथा जरिवाना गरेको छ।
विभागका अनुसार अनुगमनका क्रममा ‘काठमाडौं मार्केटिङ एण्ड ट्रेडिङ हाउस प्रा.लि.’ लाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८(ङ) बमोजिमको कसुरमा दोषी ठहर गर्दै सोही ऐनको दफा ३९ को १ (ख) अनुसार दुई लाख पाँच हजार रुपैयाँ जरिवाना गरिएको छ। त्यस्तै, ‘विश्वनाथ ओभरसिज प्रा.लि.’ लाई अठार हजार रुपैयाँ जरिवाना गरिएको छ।
‘युरो स्कुल प्रा.लि.’ (बुढानिलकण्ठ न.पा.–०६) र ‘मिल्सवेरी इन्टरनेशनल स्कुल प्रा.लि.’ (टोखा न.पा.–०४) लाई विद्यालयसँग सम्बन्धित सम्पूर्ण कागजात तीन दिनभित्र विभागमा उपस्थित गराउन निर्देशन दिइएको छ।
त्यसैगरी, ‘वि.जे. इन्टरनेशनल प्रा.लि.’ (टोखा न.पा.–१०) र ‘गुडनेश फुड्स प्रा.लि.’ (का.म.न.पा.–०३) लाई व्यवसायसँग सम्बन्धित आवश्यक कागजातहरू लिएर तीन दिनभित्र विभागमा उपस्थित हुन भनिएको छ।
अनुगमनका क्रममा ‘आदित्य इन्टरप्राइजेज’ र ‘गणपती खाद्य भण्डार’ लाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम विक्रेताले पालना गर्नुपर्ने दायित्व र आचरणहरू पूर्णरूपमा पालना गर्न निर्देशन दिइएको विभागले जनाएको छ।













